महाभूकम्पका ५ वर्ष : अझै १२ प्रतिशत घर बनाउन बाँकी

डिसी नेपाल
१२ वैशाख २०७७ १२:१९

काठमाडौं । २०७२ साल वैशाख १२ गते विकाशकारी भूकम्प गएको ५ वर्ष पूरा भएको छ।  महाभूकम्पपछि सरकारले प्राधिकरण गठन गरी पुनर्निर्माणका काम अघि बढाएपनि अझै १२ प्रतिशत घर बनाउन बाँकी रहेको छ।

नेपाल पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पमा परी ७ लाख ८६ हजार निजी आवास पूर्ण रुपमा क्षति भएका थिए। त्यसमध्ये हालसम्म ४ लाख ९४ हजार घर पूर्ण रुपमा निर्माण भइसकेका छन्। यसैगरी एक लाख ९० हजार घर निर्माणको चरणमा रहेकाले समग्रमा ८८ प्रतिशत काम सम्पन्न भएको प्राधिकरणको दावी छ।

तर, हालसम्म ८४ हजार घर भने निर्माण नै सुरु हुन सकेको छैन। भूकम्पमा क्षति भएका निजी आवास पूननिर्माणका लागि सरकारले तीन लाख रुपैयाँ किस्तावन्दीमा प्रदान गरेको थियो। हालसम्म ५ लाख ६१ हजार सर्वसाधारणले अन्तिम किस्ता भूक्तानी लिइसकेको प्राधिकरणले जनाएको छ।

यसैगरी भूकम्पमा क्षतिग्रस्त ७ हजार ५५३ विद्यालयमध्ये ५ हजार ५९८ पुनर्निर्माण सम्पन भएको र १ हजार ४९२ निर्माणको क्रममा छन्। क्षतिग्रस्त ९२० सम्पदामध्ये ४०२ वटा पुनर्निर्माण सम्पन्न र १४१ निर्माणाधिन छन्।

यस्तै १ हजार १९७ वटा स्वास्थ्य संस्थामध्ये ६६९ वटा निर्माण सम्पन्न र १४५ पुनर्निर्माणको चरणमा रहेको प्राधिकरणले जनाएको छ। पुननिर्माणमा हालसम्म प्राधिकरणले ३ खर्ब ८१ अर्ब रुपैँयाँ खर्च गरेको जनाएको छ ।

भूकम्पले गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभे्रपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति भएको थियो।

यी जिल्लालाई सरकारले अति प्रभावित भनी परिभाषित गरेको छ। यीमध्ये पनि सिन्धुपाल्चोक सबैभन्दा बढी प्रभावित भएको थियो। भूकम्पले मृत्युवरण गरेकामध्ये आधाभन्दा बढी सिन्धुपाल्चोकका थिए। अन्य १८ जिल्लामा कम प्रभावितमा परेका थिए। भूकम्पबाट ३२ जिल्ला प्रभावित भएका थिए।

हाल कोभिड १९ अर्थात् कोरोना भाइरसको महामारीले विश्वव्यापीरूपमा प्रभाव पारेको र नेपालमा पनि एक महिनादेखि बन्दाबन्दी जारी रहेकाले पुनःनिर्माणमा असर परेको प्राधिकरणले जनाएको छ ।

आवश्यक वित्तीय स्रोतको व्यवस्थापन, पहिलो किस्ता लिई अझै पनि घर पुनःनिर्माण शुरु नगरेकालाई काम गर्ने वातावरण सिर्जना, जीविकोपार्जनका थप कार्यक्रम सञ्चालन गरी जनतालाई आर्थिकरूपले सम्पन्न बनाउने, तल्लो तहमा व्यावहारिकरूपमा देखापरेका समस्या समाधानलगायत चुनौती प्राधिकरणलाई छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *