पूर्व एमाले गुटलाई लडाएर प्रचण्डको रमिता ?

डिसी नेपाल
१६ वैशाख २०७७ ११:४४

काठमाडौं। झण्डै दुई तिहाई बहुमत प्राप्त दल नेकपा भित्रको विवाद यतिबेला भुसको आगो जस्तै भएको छ। यो आगोले भित्रभित्रै शक्तिशाली भनिएको सरकारलाई समेत निरीह बनाइरहेको छ। रोचक त के भने पार्टी र सरकार दुवैलाई कमजोर बनाउने चलखेलसमेत पार्टीभित्रबाटै भइरहेको छ। यसमा बाहिरी शक्तिको कुनै हात देखिएको छैन तर नेकपा भने भित्रभित्रै कमजोर बन्दै गइरहेको छ।

दुई तिहाइ बहुमतको ‘शक्तिशाली’ सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीलाई ‘आफना’ले नै सत्ताच्युत गराउन सक्ने शंशयले त्रसित बनाएको छ। हालै अर्को पार्टी फुटाउने नियतले नयाँ कानुन बनाएर रातारात राष्ट्रपतिबाट जारी गराएका प्रधानमन्त्रीलाई त्यही कानुनले तर्सायो र अध्यादेश फिर्ता लिए।

तैपनि त्यही अध्यादेशले आफ्नै पार्टीभित्र रोपेको ‘बीउ’ मौलाउन सक्ने त्रासले प्रधानमन्त्रीको निद्रा हराम भएको छ। अहिले प्रधानमन्त्री केपी ओली आफ्नो नेतृत्वको सरकार जोगाउन अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालसँग हार गुहार गरिरहेका छन्।

कुनै बेला माओवादीका कट्टर आलोचक मानिने ओली त्यही माओवादीसँग पार्टी एकीकरण गरिदिएपछि कतिपयले यसलाई ‘अस्वाभाविक’ पनि भनेका थिए। त्यतिबेलाका घटनाक्रमसमेत नाटकीय र अपत्यारिला थिए।

पहिला केपी ओलीसँग मिलेर माधव नेपाललाई फसाउन खोजेका प्रचण्ड अहिले माधव नेपालसँग मिलेर ओलीलाई फसाउन खोजिरहेको आरोप लाग्ने गरेको छ। कतिपयले त पूर्व एमाले गुटलाई लडाएर प्रचण्डले रमिता हेर्न थालेको टिप्पणी समेत गरेका छन्।

नाकाबन्दीका बेला ‘राष्ट्रवादी’को छवि बनाएका र जनतामाझ लोकप्रिय भएको ओलीको पहिलो प्रधानमन्त्रीत्वको अन्त्य प्रचण्डले नै गरिदिएका थिए। रातारात ओली नेतृत्वको हलो अड्काएर कांग्रेससँग साँठगाँठ गरी ओलीलाई राजीनामा दिन बाध्य पारिएको त्यो ‘पटकथा’का ‘सूत्रधार’ प्रचण्ड नै थिए।

ओलीलाई ‘धोका’ दिएर कांग्रेससँग मिल्दै सरकारमा गएको माओवादीलाई प्रतिनिधि र प्रदेशसभा चुनावको मुखमा ओलीले आफैंसँग मिलाए। माओवादीसँगै मिलेर चुनाव जिते, आफ्नै नेतृत्वमा सरकार बनाए र पार्टी नै एकीकरण गरेर प्रचण्डसँगको सहकार्यलाई झनै बलियो बनाए।

प्रतिपक्षमा रहेको एमालेका अध्यक्ष ओलीले माओवादीलाई कांग्रेससँग अलग्याउँदै चुनावी गठबन्धन बनाएर पार्टी एकतासम्म आइपुग्दा ओली र प्रचण्डको घनिष्ठता लोभलाग्दो थियो । अविश्वसनीय तर अद्भूत थियो।

पार्टी एकता गर्दा ओली र प्रचण्ड मिलेर माधव नेपाल पक्षलाई कर्नरमा परेका थिए। त्यो बेला प्रचण्डको रोजाइमा माधव नेपाल होइन, केपी ओली थिए। हुँदा हुँदा ओली र प्रचण्ड मिलेर माधव नेपाललाई दिएको वरिष्ठ नेताको उपाधि खोसेर झलनाथ खनाललाई दिएका थिए। माधव नेपाल पार्टीमा अपमानित नै भएका थिए।

प्रचण्डलाई राजनीतिको चतुर खेलाडी मानिन्छ। पहिला केपी ओलीसँग मिलेर माधव नेपाललाई फसाउन खोजेका प्रचण्ड अहिले माधव नेपालसँग मिलेर ओलीलाई फसाउन खोजिरहेको आरोप लाग्ने गरेको छ। कतिपयले त पूर्व एमाले गुटलाई लडाएर प्रचण्डले रमिता हेर्न थालेको टिप्पणी समेत गरेका छन्।

‘कम्युनिष्ट पार्टीको एकल बहुमतको सरकार गठन भएका बेला सरकार ढाल्ने, यसलाई तलमाथि पार्न विदेशी शक्तिहरुले खेलिरहेका छन्,’ नेकपा केन्द्रीय सदस्य माधव ढुंगेलले डिसी नेपालसँग भने, ‘अहिले सरकार परिवर्तन गर्ने भन्ने विषय बेमौसमी बाजा हो। सरकारको समक्षा पाँच वर्षपछि हुन्छ।’

सरकार पार्टीको घोषणापत्र अनुसार नचले पार्टीले समन्वय गर्नुपर्ने र यदि सरकारले गलत काम गरेको रहेछ भने पनि त्यसलाई सच्याउँदै अगाडि बढ्नु पर्नेमा सरकार नै परिवर्तन गर्ने गरी पार्टी भित्र भएका गतिविधिले कसैलाई पनि राम्रो नगर्ने उनको भनाइ छ।

‘एकता प्रक्रिया पूरा नहुँदै पार्टी विभाजन गर्ने गतिविधिले कसैलाई पनि फाइदा गर्दैन,’ उनले भने, ‘कम्युनिष्ट पार्टी विभाजन गरेर मुलुकमा अस्थिरता निम्त्याउन विदेश शक्तिहरु सक्रिय रहेको अवस्था पार्टीका शीर्ष नेता सचेत हुनुपर्छ।’

सरकारले जारी गरेको दुई वटा अध्यादेश पछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ। सोही अध्यादेशलाई आधार बनाएर प्रचण्ड र माधव नेपाल पक्षधर सरकार परिवर्तनको खेलमा लागेको ओली निकट नेताहरुले दाबी गर्दै आएका छन्।

कुनै बेला पार्टीभित्र कर्नरमा पारिएका नेता नेपाल दुईअध्यक्षबीच दूरी बढेको बेला निर्णायक हुने गर्छन्। अहिले माधव नेपालले जसलाई समर्थन गर्यो त्यही पक्ष बलियो हुने अवस्था छ। त्यही भएर ओली र प्रचण्ड पक्षधर नेता नेपाललाई आफ्नो पक्षमा ल्याउन लागिपरेका छन्।

हुन पनि प्रचण्ड पार्टी एकतापछि ओलीको छायाँमा परेका छन् । १ दशकसम्म नेपाली राजनीतिको निर्णायक स्थानमा रहेर सक्रिय रहेका प्रचण्डको सक्रियता पार्टी एकीकरणसँग घट्दै गएको देखिन्छ । यद्यपि प्रचण्ड आफैं निष्क्रिय हुन चाहेको नभइ उनका लागि त्यस्तो किसिमको भूमिका नभएकाले उनी छायाँमा परेको देखिन्छ।

प्रचण्डले आफ्नो पक्षका सबै नेता, मन्त्री र सांसदलाई एक ढिक्का राख्दै पूर्व एमालेभित्रको गुट लडाएर आफू बलियो हुने खेलमा रहेको पूर्व एमालेका एक नेताले बताए। ‘पूर्व माओवादीभत्र अहिलेको अवस्थामा गुट छैन, प्रचण्ड मात्रै एक्लो नेता हो, त्यही भएर अहिले उहाँ पूर्व एमालेभित्रको गुटमा खेलेर पार्टी कब्जा गर्ने दाउमा हुनुहुन्छ,’ ती नेताले भने, ‘तर उहाँले सोचेजस्तै सजिलो भइहाल्ने अवस्था पनि छैन।’

हुन पनि प्रचण्ड पार्टी एकतापछि ओलीको छायाँमा परेका छन् । १ दशकसम्म नेपाली राजनीतिको निर्णायक स्थानमा रहेर सक्रिय रहेका प्रचण्डको सक्रियता पार्टी एकीकरणसँग घट्दै गएको देखिन्छ । यद्यपि प्रचण्ड आफैं निष्क्रिय हुन चाहेको नभइ उनका लागि त्यस्तो किसिमको भूमिका नभएकाले उनी छायाँमा परेको देखिन्छ।

सरकार र पार्टी दुवैतर्फ ओलीको सक्रिय नेतृत्वका कारण भूमिकाविहीन बन्न पुगेका प्रचण्डले पछिल्लो समय कोरोनाभाइरससँग लड्नको लागि सर्वदलीय संयन्त्र गठन गर्ने र त्यसको नेतृत्व आफूले गर्ने चाहना व्यक्त गरेका थिए ।

तर, प्रधानमन्त्रीबाट त्यो चाहना पनि पूरा हुन नदिइएपछि अब भने प्रचण्ड आफैं बलियो हुने र आफैं सक्रिय हुने मनस्थितिमा रहेको नेकपा सेत बताउँछ । यसका लागि प्रचण्डले पहिले पार्टीभित्र बलियो हुने र सरकारलाई कमजोर पार्दै आफ्नो लागि रकारको नेतृत्वसम्म पुग्ने बाटो सहज बनाउन चाहेको पूर्वएमाले वृत्तको बुझाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *