मलाई नेपाली हुनुमा गर्व छः दिवेश पोखरेल, अमेरिकन आइडलका प्रतिस्पर्धी

डिसी नेपाल
२१ वैशाख २०७७ ९:४२

वासिंगटन डिसी । अमेरिकाको हलिउडमा अमेरिकन आइडलमार्फत तहल्का मच्चाइरहेका नेपाली युवा गायक दिवेश पोख्रेल (आर्थर गन) ले अमेरिकन आइडलको आफ्नो यात्राका क्रममा पनि नेपाली हुनुमा गर्व रहेको बताएका छन् ।

डिसी नेपालका साजिद पौडेलसँगको विशेष अन्तर्वार्तामा उनले आफूलाई भोटमार्फत अमेरिकन आइडलको हालसम्मको स्थानमा पुर्याएकोमा संसारभर फैलिएका नेपालीजनहरुप्रति मनदेखि आभार र सम्मान व्यक्त गरेको बताए । उनले भने, ‘संसारभर फैलिनुभएका नेपालीलाई मनैदेखि धन्यवाद व्यक्त गर्दछु । धेरै खुसी लाग्छ, सबैतिरबाट सपोर्ट आयो, मलाई नेपाली हुनुमा गर्व छ ।’

अमेरिकी समयअनुसार, मे ३ तारिख आइतवार टप टेनको लागि प्रस्तुति दिने तयारी गरिरहेका पोख्रेलले नेपालको संस्कृति र प्रकृति संसारभरमा अनुपम रहेकोले सबै मिलेर यसलाई जोगाउनु र फैलाउनु पर्ने धारणा राखे । उनले भने, ‘हाम्रो पुरानो संस्कृतिको रक्षा गरौं म यही भन्न चाहान्छु ।’ दिवेशको टप टेनको लागि प्रस्तुती नेपाली समयअनुसार सोमबार बिहान पौने ५ बजे प्रसारण हुनेछ । यही शोमा टप १० प्रतिस्पर्धी घोषणा हुनेछन् र १० जना बाहिरिनेछन् । यही दिन दिवेशको यात्रा अगाडि बढ्ने वा नबढ्ने पनि निर्धारण हुनेछ ।

दिवेशले अहिलेसम्मको यात्रामै आफूलाई गर्व महसुस भएको र अगाडि बढ्नको लागि आत्मविश्वास प्राप्त भएको बताएका छन् । उनले भने ‘अर्को प्रस्तुतीको लागि मेरो तर्फबाट राम्रो तयारी गरेको छु । नेपाल र विश्वभरीबाट धेरै सहयोग गर्नुभएको छ । टप १० को शोको लागि उत्साही छु ।’ उनले शोमा अगाडि बढ्दै जाँदा दबाब बढ्दै जानु स्वभाविक भएको भन्दै आत्मविश्वास पनि बढाउँदै जानुपर्ने बताए । उनले भने ‘यहाँसम्म आइसकें अब त अझै अगाडि बढ्नुपर्छ भन्ने लागिरहेको छ ।’

दिवेशले आफूलाई सानै उमेरदेखि संगीतमा रुचि भएको सम्झिए । ’घरमा दाई दिदीहरुले गाएको सुन्थें, सुन्न र गाउन दुवै मन पर्थ्यो’ उनले भने ‘यही बीचमा ममीले गितार उपहार दिनुभयो । मेरो यात्राको लागि त्यो नै सुरुवात बन्यो ।’ आमाले गितार उपहार दिएपछि दिवेशले गितार बजाउन सिक्दै गाउन थाले । सहयोग माग्दै, कोडहरु सिक्दै उनको सांगीतिक यात्रा अगाडि बढ्यो ।

पूरा अन्तरवार्ता हेर्नुहोस् –

यद्यपि त्यतिबेला उनी सानै थिए । उनी स्कुले नै थिए र उनले यही क्षेत्रमा करिअर बनाउने निश्चित भइसकेको थिएन । ‘त्यो ओपन स्टेज थियो, म्युजिकलाई सिरियसली लिएको थिइन’ दिवेशले सम्झे ‘स्कुले थिएँ । खेलकुदतिर पनि लागें । म्युजिकबाट अलि पन्छिएँ । तर, त्यो स्टेज कटेपछि फेरि म्युजिकमा इच्छा बढ्न थाल्यो अनि साथीहरु मिलेर ब्याण्ड बनाएर अगाडि बढ्यौं ।’ दिवेशका अनुसार उनका त्यतिबेलाका कैयौं साथीहरु अहिले पनि नेपालमा संगीत क्षेत्रमै छन् ।

यही बीचमा दिवेश अमेरिका पुगें । त्यहाँ उनीसँग खाली समय पनि बढ्यो । यही समयको सदुपयोग गर्दै उनी फेरि संगीतमै सक्रिय भए । ‘मैले गितार लिएँ अनि अभ्यास सुरु गरें’ दिवेश भन्छन् ‘यहाँ कफी शपहरुमा गएर पनि बजाउन र गाउन थालें ।’ दिवेशलाई आफ्नै एल्बम मनाउने पनि रहर थियो, उनले यतर्फ पनि काम सुरु गरे ।

अमेरिकन आइडलमा जाने योजना भने पहिलेदेखिको थिएन । ‘अमेरिकन आइडल भन्ने शो छ भन्ने थाहा थियो तर जाने योजना भने थिएन’ दिवेश भन्छन् ‘विचिटा आएपछि धेरै संगीत क्षेत्रका मानिसहरु भेटें । सबैले अमेरिकन आइडलमा जान सुझाव दिन थाले । साथीहरुले परिवारबाट पनि जान सुझाव आएपछि ट्राइ गरिहालौं न त भनेर गएको थिएँ ।’ अमेरिकन आइडलको अडिसनमै प्रशंशा भएपछि भने उनी झनै प्रेरित भए ।

अडिसनमा दिवेशले क्रिडेन्स क्लियरवाटर रिभाइभ्डको ‘ह्याभ यु इभर सीन द रेन…’ गाएका थिए । उनले पछि अर्को शोमा पनि यही गीत गाए । यद्यपि दोस्रो पटक उनले यो गीतको वास्तविक संगीत र लयमा केही परिमार्जन गरेका थिए । उनले यही गीत किन रोजे ? दिवेश भन्छन् ‘मैले मेरो म्युजिकल जर्नी स्टेजमा देखाउन चाहेको थिएँ । यो मैले सानैदेखि सुनेको गीत हो । यही गीत सुन्दा सुन्दै म संगीतमा आकर्षित भएको थिएँ ।

दिवेशले २ वर्षअघि ‘ग्रहण’ नामक एल्बम पनि निकालेका छन् । यो एल्बमको काम सन् २०१७ मा सुरु भएको थियो र यसको पहिलो गीत ‘प्रलय’ नेपालमै रेकर्ड भएको थियो । पछि स्टेजमा फर्किएपछि उनलाई पूरै एल्बम निकाल्न मन लाग्यो । ‘मैले सानैमा लेखेका केही कविताहरु समेत जोडेर केही गीतहरु बनाएँ’ उनले भने ‘केही गीतहरु भने पछि लेखेको थिएँ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *