२५ सशस्त्र प्रहरीको काँघमा लिपुलेकको सुरक्षा जिम्मेवारी, बुधबार पुग्ने

डिसी नेपाल
३० वैशाख २०७७ ९:३६

काठमाडौं । नेपाल सरकारले तत्कालका लागि २५ जन सशस्त्र प्रहरीको काँघमा विवादित लिपुलेकसहित कालापानी क्षेत्रको सुरक्षा सुम्पने भएको छ। तत्कालका लागि दार्चुलामै भएको सशस्त्र प्रहरीको गणबाट एकजना सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको फौज पठाउन लागिएको हो। यो टोलीलाई भोलि बुधबार सीमा क्षेत्रमा सेनाको हेलिकोप्टरमार्फत पुर्याइने भएको छ।

सशस्त्र प्रहरीको यो टोलीले नेपाल भारत सीमा क्षेत्रको नियमित गस्ती गर्ने छ । हाल राख्न लागिएको क्याम्पदेखि १० किलोमिटरको दूरीमा कालापानी क्षेत्र पर्ने हुँदा फौजले गस्ती गरेर सरकारलाई दिनहुँजसो रिपोर्ट गर्ने गरी टोलीलाई जिम्मेवारी दिइएको छ।

त्यसैगरी यो टोलीले नेपाल भारत र चीनका सीमा स्तम्भहरुको अवस्था, त्यहाँ निर्मित बाटोको अवस्था र बोर्डरमा भारतीय गतिविधिलगायतका सूचनाहरु केन्द्रमा पठाउने जिम्मेवारी पनि पाएको छ।

भारतले नेपाली भूमि अतिक्रमित गर्दै चीनको मानसरोवरसम्म पुग्ने सडक बनाएपछि सरकारले कालापानी क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको बीओपी स्थापना गर्ने निर्णय गरेको थियो । सरकारले दार्चुला जिल्लाको व्यास गाउपालिका–१ मा पर्ने गागा क्षेत्रमा पहिलोपटक सशस्त्र प्रहरी खटाउन थालेको हो।

यसअघि पनि सरकारले कालापानी क्षेत्र नजिकै सशस्त्र प्रहरीको बीओपी स्थापना गर्ने निर्णय गरेको थियो, तर कार्यान्वयन हुन सकेको थिएन । तर यो पटक भने सरकारले सेनाको हेलिकप्टरमार्फत कालापानी क्षेत्रमा सशस्त्र प्रहरीलाई पुर्याउने भएको हो ।

व्यासको छाङ्गरु गागामा सशस्त्र प्रहरीको बिओपी राख्न स्थानीयवासीले जमीनसमेत उपलब्ध गराएका छन् । स्थानीयवासीले गागामा कित्ता नं ३५ को ११५ रोपनी तीन आना जग्गामध्ये १५ रोपनी जमीन सशस्त्र प्रहरीलाई दिइसकेका छन्। बिओपी स्थापना हुने भन्दै सशस्त्र प्रहरी बल नेपाल ५० नं गुल्म दार्चुलाबाट गत चैत पहिलो साता निरीक्षणसमेत गरिएको थियो ।

अहिले नै भवन निर्माण गर्न सकिने अवस्था नभएका तत्कालका लागि घर भाडामा लिएर सशस्त्र प्रहरी राख्ने तयारी भएको हो । यसअघि व्यासको तिङ्करको छायालेक र छागङ्रुको सीतापुलमा रहदै आएका नेपाल प्रहरीका दुवै युनिट अहिले व्यास गाउपालिका–२ को दुम्लिङ झारिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *