चर्चित पूर्वानुमान वेबसाइट गोल्ड डर्बी भन्छ–‘आर्थर गन अमेरिकन आइडलको उपाधि नजिक’

डिसी नेपाल
४ जेठ २०७७ ११:२१

काठमाडौं। अवार्ड पूर्वानुमानको लाचि चर्चित अमेरिकी मनोरञ्जनात्मक समाचार वेबसाइट गोल्ड डर्बीले आर्थर गन अर्थात नेपाली युवा गायक दिवेश पोखरेल अमेरिकन आइडलको उपाधि नजिकै भएको पूर्वानुमान गरेको छ । अमेरिकन आइडलको फाइनल आइतबार मे १७ का दिन (नेपाली समयअनुसार भोलि सोमबार बिहान) हुँदैछ ।

मे १० का दिन टप ७ प्रतिस्पर्धीहरुले २ गित गाएका थिए । एउटा मदर्स डेको सम्मानमा र अर्को डिज्नी क्याटलगबाट थियो । यी ७ प्रतिस्पर्धीमध्ये ५ जना मात्र आइतबारको फाइनलमा पुग्नेछन् । यसको निर्णय भोटको आधारमा हुनेछ । गोल्ड डर्बीले आइतबार हुने फाइनलको पूर्वानुमानको लागि दर्शकहरुसँग केही प्रश्नहरु सोधेको थियो ।

गोल्ड डर्बीका अनुसार अमेरिकन आइडलको उपाधि कसले जित्ला भन्ने प्रश्नको जवाफमा अमेरिकन आइडल फ्यानहरु २ जना प्रतिस्पर्धीका बीचमा विभाजित छन् । ती दुई प्रतिस्पर्धीमध्येका एक नेपाली आर्थर गन अर्थात दिवेश पोखरेल हुन् र अर्की जस्ट साम हुन् । यद्यपि फ्यानको भोटमा आर्थर गनले ठूलो अग्रता लिइरहेको रिपोर्टमा उल्लेख छ ।

रिपोर्टका अनुसार आर्थर गनले ३१ प्रतिशत भोटसहित अग्रता लिइरहेका छन् र जस्ट साम २१ प्रतिशत भोटका साथ उनलाई पच्छ्याइरहेकी छिन् । यी दुवै गत हप्तादेखि ४ अंकले अरु प्रतिस्पर्धीभन्दा अगाडि छन् । यीबाहेक अन्य ५ जना उपाधिका प्रतिस्पर्धीहरुमध्ये केवल ३ जनाले मात्र दोहोरो अंकको भोट पाएका छन् ।

जोनी वेष्टको १४ प्रतिशत, डिलोन जेम्सको १२ प्रतिशत र फ्रान्सिस्को मार्टिनको ११ प्रतिशत भोट छ । जुलिया गार्गानोको ७ र लुइस नाइटको ४ प्रतिशत छ । उपाधिका ७ प्रतिस्पर्धीमध्ये २ जना आइतबारको फाइनलको सुरुमै बाहिरिनेछन् । त्यसपछि टप ५ प्रतिस्पर्धीहरुले २–२ गीत गाउनेछन् । एउटा नयाँ ट्युन हुनेछ र अर्को यही सिजनको अगाडिका एपिसोडबाट लिइनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *