कोरोना प्रभाव : रेमिट्यान्स ४ प्रतिशत घट्यो

डिसी नेपाल
५ जेठ २०७७ १०:०९

काठमाडौं। अर्थतन्त्रको प्रमुख आधार मानिएको रेमिट्यान्समा कोरोना संक्रमणको प्रभाव देखिन थालेको छ।  नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुुसार चालु आर्थिक वर्षको चैतमा रेमिट्यान्स ४ प्रतिशतले घटेको छ।

चैतसम्ममा ६ खर्ब २६ अर्ब ९० करोड रुपैयाँ रेमिट्यान्स आएको छ। अघिल्लो वर्षको चैत मसान्तसम्ममा रेमिट्यान्सको बृद्धिदर २० प्रतिशतको थियो। चालु आवकै फागुन महिनामा ७९ अर्ब रुपैयाँ रेमिट्यान्स आएकोमा चैतमा ३४ अर्ब रुपैयाँ मात्र भित्रिएको छ।

यसैगरी अमेरिकी डलरमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ९.९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। २०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले बृद्धि भई २०७६ चैत मसान्तमा ११ खर्ब ५५ अर्ब ९० करोड बराबर पुगेको छ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७६ चैत मसान्तमा ९ अर्ब ४९ करोड पुगेको छ। कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९ खर्ब २ अर्ब ४४ करोड रहेकोमा २०७६ चैत मसान्तमा ९ खर्ब ९६ अर्ब ८ करोड पुगेको छ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा १ खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा २०७६ चैत मसान्तमा १ खर्ब ५९ अर्ब ८१ करोड पुगेको छ । २०७६ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *