कतारमा एक नेपालीलाई गोली हानेर मृत्युदण्ड दिइयो
काठमाडौँ । कतारमा एक जना नेपालीलाई मृत्युदण्ड दिइएको छ । महोत्तरीको औराही–१,का अनिल चौधरीलाई गोली हानी मृत्युदण्ड दिइएको हो ।अनिल चौधरीलाई सुनाइएको सजाय कार्यन्वयन गराइएको भनेर कतार सरकारले एक महिनाअघि जानकारी पठाएको दोहास्थित नेपाली दूतावासका एक कर्मचारीले डिसी नेपाललाई बताए ।
उनकाअनुसार चौधरीलाई मृत्युदण्ड दिइएकोबारे कतारस्थित नेपाली दूतावासलाई जानकारी गराइए पनि कुन मितिमा भन्नेबारे जानकारी दिइएको छैन । दूतावासले काठमाडौंस्थित कन्सुलर विभागमा यसबारे जानकारी गराइसकेको जनाएकाे छ ।
चौधरी एक कतारी नागरिकको हत्याको आरोपमा गत २०१७ अप्रिलको पहिलो हप्ता पक्राउ परेका थिए ।चौधरीलाई कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्याको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाइएको थियो । चौधरीलाई माफी दिनको लागि पीडित कतारी परिवारले अस्वीकार गरेको थियो ।
तल्लो अदालतको फैसलालाई सर्वोच्च अदालतले पनि अनुमोदन गरेपछि जेल प्रशासनले मृत्युदण्डलाई कार्यान्वयन गरेको हो ।
कतारमा नेपालीलाई मृत्युदण्ड दिइएको यो पहिलो घटना हो । कतारमा मृत्युदण्ड पाएका नेपालीहरु अरु पनि भए पनि अरुको मृत्युदण्डको सजाय कार्यान्वयन भइसकेको छैन । कतार सरकारले उनको शव नेपाल ल्याउन अनुमति दिएको दूतावासले बताएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment