विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई समयमै उद्धार गछौँ : प्रधानमन्त्री ओली

डिसी नेपाल
१२ जेठ २०७७ १८:४५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीलाई समयमै उद्धार गरिने बताएका छन्। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले विदेशमा अलपत्रमा परेका नेपाली नागरिकलाई छिट्टै स्वदेश फर्काउने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्थासम्बन्धी विस्तृत योजनासहितको आदेश तत्काल जारी गर्ने बताए ।

‘विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका नेपालीहरुलाई समयमै उद्धार गर्छौं। अलपत्र परेका नागरिकलाई सरकारले सन्तुलन मिलाएर उद्धारको काम सुरु गर्नेछ,’ उनले भने,‘ सरकार आफ्ना नागरिकप्रति संवेदनशील छ। यसमा निश्चिन्त रहन म सबैमा आग्रह गर्दछु ।’

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाका कारण विदेशमा लाखौं नेपाली नागरिक अलपत्र परेका छन् । भाइरसले रोक्किने नाम नलिएपछि यसको प्रत्यक्ष मारमा विदेशमा काम गर्ने श्रमिकहरु परेका हुन।

अहिले कोरोनाकै कारण चलिरहेका कम्पनी टाँट पल्टिदा विदेशमा रहेका कतिपय नेपालीले आफूले गर्दै आएको रोजगारी गुमाइसकेका छन् । भने कतिपय कामदार आफ्नो रोजगारी गुम्ने डरले चिन्तित छन् । त्यस्तैै घर फकर्ने तयारी अवस्थामा रहेका कैयौँ नेपाली पनि समस्यामा परेका छन् । नेपाल सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि भन्दै लगाएको प्रतिबन्धका कारण उनीहरु नेपाल फर्कन सकिरहेका छैनन् ।

विदेशमा समस्यामा परेका अन्य मुलुकका नागरिकहरुलाई भने उनीहरुको देशको सरकारले भटाभट चार्टड विमान पठाएर उद्धार गरिरहेको छ ।  नेपाली कामदार भने आफूहरुको उद्धार हुने आशमा सरकारको मुख हेरेर बसिरहेका छन् । तर, नेपाल सरकारले विदेशमा रहेका नेपालीहरुको समस्याप्रति प्रभावकारी कदम नदेखाउँदा उनीहरु चिन्तीत बनिरहेका छन् ।

यता नेपालमा पनि विदेशमा अलपत्र रहेका नेपालीलाई उद्धार नगरिएको भन्दै सरकारको चर्को आलोचना हुँदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *