भारतबाट पैदलै हिँडेर आएका थिए अर्घाखाँचीका २ जना संक्रमित

डिसी नेपाल
१३ जेठ २०७७ १०:०९

अर्घाखाँची । अर्घाखाँची र गुल्मीमा भारतबाट फर्किएका तीन व्यक्तिसहित चार जनामा कोरोना संक्रमण देखिएको छ।

संक्रमण पुष्टि भएकामध्ये अर्घाखाँचीका दुई जना तथा गुल्मीका दुईमध्ये एक जना भारतबाट फर्किएका युवा हुन्।

संक्रमित अर्का भने स्थानीयवासी युवक हुन्। अर्घाखाँचीमा संक्रमण देखिएका व्यक्ति यही जेठ २ गते भारतको रायबरेली भन्ने ठाउँबाट पैदलै हिँडेर गृह जिल्ला आइपुगेका हुन्।

जिल्ला आउनासाथ उनीहरुलाई पाणिनी गाउँपालिका वडा नम्बर–८, पालीको कमला माविको क्वारेन्टिनमा राखिएको थियो।

भैरहवास्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा क्वारेन्टिनमा रहेका १९ वर्ष र ४३ वर्षका दुई पुरुषमा कोरोना पोजेटिभ देखिएको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले जानकारी दिए ।

संक्रमण देखिएका दुवैको स्वास्थ्यावस्था सामान्य रहेको बताइएको छ। अर्घाखाँचीमा पहिलो पटक कोरोना संक्रमण देखापरेको हो। उनीहरुसंँगै आएका अन्य तीन जनाको रिपोर्ट भने नेगेटिभ आएको छ।

जिल्लामा पछिल्लो एक सातामा भारत तथा छिमेकी जिल्लाबाट आउने एक हजार ६२२ पुगेका छन् ।

रोजगारीका सिलसिलामा भारत गएका नागरिक कोरोनाको उच्च जोखिमले रोजगारी गुमाउन थालेपछि धमाधम गृह जिल्ला फर्किन थालेका छन्।

पछिल्लो एक सातामा सन्धिखर्क नगरपालिकाका १७९, भूमिकास्थान नगरपालिकाका ४०९, शीतगंगा नगरपालिकाका ५०१, पाणिनी गाउँपालिकाका ११६, मालारानी गाउँपालिकाका ३२१ र छत्रदेव गाउँपालिकाका ९६ जना जिल्ला प्रवेश गरेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए ।

बाहिरबाट आएका सबैलाई स्थानीय पालिकाका क्वारेन्टिनमा राखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *