बजार नपाएपछि तरकारी बारीमै चल्यो ट्र्याक्टर

डिसी नेपाल
१६ जेठ २०७७ ११:३४

चितवन। लामो समयसम्म लकडाउन जारी रहँदा पूर्वी चितवनका किसानले लगाएको तरकारीसहित बारी जोताउन थालेका छन्। किसानले उत्पादन गरेको तरकारीले बजार नपाएपछि तरकारीसहित नै जोत्न शुरु गरेका हुन्।

खैरहनी नगरपालिका वडा नं १ बहेराका किसान वाससुदेव सापकोटाले तरकारी बिक्री नभएपछि खेतमा ट्र्याक्टर लगाएर जोताउन बाध्य भएको बताए। यसपटक लकडाउनले गर्दा बजार मूल्य नपाएपछि सापकोटाले भिन्डीबारी जोताएका हुन्। उनले सात कठ्ठा जग्गामा भिन्डी लगाएका थिए। वैशाख महिनामा उहाँले रु १२ हजारको मात्र भिन्डी बिक्री गरेको बताए।

त्यसयता उनको भिन्डीले बजार पाएको छैन। लकडाउन लम्बिँदा प्रायः धेरै किसान मारमा परेका छन्। सापकोटाले आफ्नो परिश्रमबाहेक सात कठ्ठामा रु ६५ हजार खर्च गरेर भिन्डी लगाएको जानकारी दिए। उनले भने, “शुरुमा केही बिक्री भयो, अहिले सित्तैमा लैजानसमेत मान्दैनन्।” बोटमा छिप्याएर राख्नुभन्दा जोतेर अर्को बालीको तयारी गर्न उपयुक्त ठानेर तरकारीसहित बारी जोतेको उहाँको भनाइ छ। बाह्र वर्षअघि प्रतिकिलो रु दुईमा झरेपछि उनले त्यो बेला पनि तरकारीसहितको बारीमा ट्र्याक्टर लगाएका थिए।

अर्का किसान कृष्णप्रसाद सापकोटाले २३ कठ्ठामा तरकारी खेती गर्दै आएका छन्। त्यसमध्ये छ कठ्ठामा भिन्डी खेती गरेका छन्। अन्य तरकारीले बजार पाए पनि भिन्डीले भने मूल्य नपाउँदा उनी निरास छन्।

भिन्डीसँगै जोडिएको जग्गामा मकैखेती गरेकाले एकैपटक जोत्ने तयारीमा उनी छन्। विदेशबाट फर्केर स्वदेशमै तरकारी खेती शुरु गरेका कृष्ण यसैबाट छोराछोरी पढाउने, घर खर्च चलाउने गर्थे

तरकारी खेती गर्ने किसानलाई उनीहरुले उत्पादन गरेको वस्तुको समर्थन मूल्य सरकारले तोक्नुपर्ने उनको भनाइ छ। उनीहरुले स्थानीय ग्रामीण ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थामार्फत तरकारी बिक्री गर्दै आएका छन्।

सहकारीका अध्यक्ष पूर्णदत्त जैसी क्षेत्रीले लकडाउनका कारण तरकारी सङ्कलनको काम बन्द भएको बताए। यहाँ उत्पादन भएको तरकारीको मुख्य बजार नारायणगढ, काठमाडाैं र पोखरा हो। अन्य जिल्ला लैजान अहिले समस्या छ सहकारीका अध्यक्ष जैसीले भने, “बिचौलिया हाबी हुँदा तरकारीले उचित मूल्य पाउन नसकेको हो।”

सो क्षेत्रमा अहिले ३०० किसानले व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका छन्। सहकारीका अध्यक्ष जैसीका अनुसार खैरहनी वडा नं १ बाट मात्रै वार्षिक रु नौ करोडको तरकारी उत्पादन हुँदै आएको छ। यहाँ भिन्डी, बोडी, बन्दा, काउली, गोलभेँडालगायत तरकारी खेती हुँदै आएको छ। गत वर्ष पनि यस क्षेत्रका किसानले उत्पादन गरेको तराकारीले बजार नपाएपछि खेतमै जोताएका थिए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *