काठको आपूर्ति प्रभावित भएको भन्दै महासङ्घको ध्यानाकर्षण

डिसी नेपाल
१६ जेठ २०७७ २२:११

काठमाडौँ । नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घले नेपाल सरकारको हालैको निर्णयबाट काठ सङ्कलनको मुख्य समयाअवधिमा काठको आपूर्ति प्रभावित भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्ले हालै वन क्षेत्रमा साललगायतका विभिन्न रुख कटान, सङ्कलन, ढुवानी तथा ओसारपसार अनियमितरुपले भइरहेको भन्दै नेपालभित्रको सम्पूर्ण वन क्षेत्रमा साललगायतका विभिन्न रुख कटान गर्ने, सङ्कलन, ढुवानी र ओसारपसार गर्ने कार्य तत्कालै रोक्ने र कटान भएका साल लगायतका रुख, गोलिया जहां जुन अवस्थामा छन् त्यसलाई सोही अवस्थामा सुरक्षित राख्नेसम्बन्धी निर्णय गरेको थियो । महासङ्घका अध्यक्ष श्याम सुन्दर ढकालले आज एक विज्ञप्तिमार्फत जहाँ जुन स्थानमा अनिमितता भएको छ उक्त स्थानमा तत्काल छानबिन आरम्भ गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउन र अन्य क्षेत्रमा कटान, सङ्कलन, ढुवानी तथा ओसारपसार गर्ने कार्य तत्काल सुचारु गर्नेतर्फ सरकारको ध्यान आकृष्ट गराएका छन् ।

काठ सङ्कलनको मुख्य समयावधिमा देश लकडाउनको अवस्थामा रहन पुगी काठ सङ्कलन कार्यमा बाधा उत्पन्न भइरहेको अवस्थामा सरकारको उक्त निर्णयले काष्ठमा आधारित उद्योगका लागि कच्चा पदार्थ अभाव हुने उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। यसका साथै वन पैदावार कटान, सङ्कलन, ओसारप्रसार तथा मुल्य अभिवृद्धिको माध्यमवाट रोजगारीको अवसर बढाउनुपर्ने वर्तमान अवस्थामा भैरहेको रोजगारका अवसरसमेत गुम्न जाने खतरासमेत पैदा भएको महासंघको भनाई छ ।

निकट भविश्यमै बजारमा काष्ठमा आधारित वस्तुको अभाव सिर्जना हुने निश्चित देखिएको बताउँदै अध्यक्ष ढकालले काष्ठ वन पैदावारमा आधारित उद्योग तथा व्यवसायको योगदानप्रति सकारात्मक दृष्टिकोणका साथ उक्त निर्णयप्रति पुनरावलोकन गर्न सरकारसँग आग्रह गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *