नेपाललाई फकाइ–फकाइ प्रयोग गर्ने भारतीय सत्ताको रणनीति

डिसी नेपाल
१७ जेठ २०७७ १०:१७

काठमाडौं। नेपालसँग सीमा विवाद चर्किएपछि भारतीय सत्ताले नेपाललाई फकाइ–फकाइ आफू अनुकूल प्रयोग गर्ने रणनीति लिएको छ। विवाद सुरु हुँदा भारतीय मिडिया र भारतीय नेताहरु समेत नेपालप्रति आक्रामक थिए। तर, नेपाल पछि नहटेपछि अन्ततः उनीहरु नेपाललाई फकाउने र आफ्नो फाइदाको लागि प्रयोग गर्ने रणनीतिमा उत्रिएको देखिएको छ।

पछिल्लो समय भारतीय जनता पार्टीका नेता सुब्रमन्यन स्वामीले २ घण्टाको अन्तरालमा २ वटा ट्वीट गरेका छन्। ती दुई ट्वीटमा भारतीय सत्ताको नियत प्रस्ट देखिन्छ। अघिल्लो साता भारतीय मिडियाहरु पनि नेपालविरुद्ध आक्रामक थिए।

भारतीय पत्रकारहरु नेपालविरुद्ध तुच्छ शब्द बोल्न समेत पछि परेका थिएनन्। त्यतिबेला नेताहरु पनि नेपालप्रति नरम थिएनन्। तर, अहिले भारतीय मिडियाले नेपालविरुद्ध उग्र रुपमा गरिने प्रस्तुतीलाई रोक्न थालेका छन्। यही बीचमा सुब्रमन्यन स्वामीले पनि नेपाललाई फकाउने खालको ट्वीट गरे।

शुक्रबार दिउँसो २ बजेतिर उनले ट्वीट गर्दै नेपालीहरुसँग रुखो व्यवहार गर्न नहुने बताएका थिए। उनले ट्वीटमा लेखेका थिए –‘भारतीय प्रधानमन्त्रीले उनको विदेश मन्त्रालयका कूटनीतिज्ञहरुलाई आफ्ना नेपाली समकक्षीसँग मिठो भाषा बोल्न भन्नुपर्छ।नेपाल हाम्रो रगतको नाता भएको कान्छो भाइ हो । यदि नेपालीहरुले आफूलाई अलग महसुस गरे भने हामीले उनीहरुको त्यो भावना बुझ्न र त्यसलाई शान्त गर्न ठूलो छाती बनाउनुपर्छ ।’

उनको यो ट्वीटले कूटनैतिक वृत्तमा एउटा तरंग ल्यायो। यसलाई नेपालप्रति भारतीय सत्ताको दृष्टिकोण फेरिएको रुपमा अर्थ लगाइयो। नेपालविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएर भारतले जित्न नसक्ने भएकोले नेपालसँग सौहार्दपूर्ण वातावरणमा समस्या समाधान गर्नु नै उपयुक्त हुने भारतीय सत्ताले ठानेको रुपमा यसलाई बुझियो।

यस्तो बुझाइको कारण सुब्रमन्यन स्वामीको राजनीतिक हैसियत हो। भारतीय जनता पार्टीका नेता उनी राज्यसभामा भाजपाको तर्फबाट मनोनित सदस्य हुन्। इण्डियन इन्ष्टिच्युट अफ टेक्नोलोजीमा गणितीय अर्थशास्त्रका प्राध्यापक रहेका उनी चन्द्रशेखर प्रधानमन्त्री हुँदा क्याबिनेट मन्त्री पनि थिए। विदेश मामिलाका विज्ञसमेत मानिने उनी प्रधानमन्त्री मोदीको उग्र हिन्दूवादी धारका प्रमुख सदस्यमध्येका एक हुन्।

तर, सुब्रमन्यन स्वामीको ट्वीटसँगै भारत नेपालप्रति नरम हुन थालेको बुझाइ २ घण्टा पनि टिकेन। २ घण्टापछि नै उनले अर्को ट्वीट गरे। दोस्रो ट्वीटमा उनले लेखेका छन् –‘जब नेपाल र भारतको सम्बन्ध बिग्रिन्छ, तब पाकिस्तानको आइएसआइले खुसी मनाउँछ किनकि उसको ९० प्रतिशत भारत विरोधी गतिविधि नेपाल भारत सीमाबाट हुन्छ ।’ उनको यो ट्वीटले भारतीय सत्ताको नेपालप्रतिको बुझाइ र नियत प्रस्ट पारिदियो।

यसअघि भारतीय सेनाका प्रमुखले नेपाल चीनको इशारामा भारतविरुद्ध उत्रिएको आरोप लगाएका थिए। अहिले भाजपाका शीर्ष तहका नेताले पाकिस्तानको क्रिडास्थल नेपाल भएको र नेपालबाटै पाकिस्तानले भारतविरोधी गतिविधि संचालन गर्ने गरेको आरोप लगाएका छन्।

आफ्नो गल्ती स्वीकार नगर्ने बरु कहिले चीन, कहिले पाकिस्तानलाई आरोप लगाउँदै नेपाललाई फकाएर आफू अनुकूल प्रयोग गर्ने रणनीतिमा भारतीय सत्ता रहेको पछिल्ला घटनाक्रमले देखाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *