संक्रमितको शवदाहपछि बन्द भएको विद्युतीय गृह आजबाट संचालनमा

डिसी नेपाल
१७ जेठ २०७७ १२:२२

काठमाडौँ । पशुपतिस्थित विद्युतीय शवदाह गृह आज दिउँसोदेखि सञ्चालनमा ल्याउने तयारी भएको छ।

कोरोना भाइरसबाट सङ्क्रमित भई निधन भएका ललितपुर बुङ्मतीका पुरुषको गत बिहीबार शवदाह गरेपछि बन्द गरिएको शवदाह गृहलाई निर्मलीकरण गरी आज दिउँसोदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोरोना सङ्क्रमित भई निधन भएका पाँचौँ व्यक्ति बुङ्मतीका पुरुषको शवदाह गरिएपछि ३६ घण्टाभन्दा बढी निर्मलीकरण गरेर आज दिउँसो १ बजेदेखि सञ्चालनमा ल्याउने तयारी भएको पशुपति क्षेत्र विकास कोषका निर्देशक राजु रेग्मीले राससलाई जानकारी दिए।

शवदाहमा संलग्न दुई कर्मचारीलाई शवदाह गृहमै क्वारेन्टिनमा राखी दुईपटक आरडिटी परीक्षण गर्दासमेत प्रतिवेदन नेगेटिभ आएको उनले बताए ।

दुवै कर्मचारीलाई आज बिहान क्रियापुत्री घरको क्वारेन्टिनमा राखी विद्युतीय शवदाह गृहलाई पुनः निर्मलीकरण गरेपछि सञ्चालनमा ल्याइनेछ।

शवदाहमा संलग्न कर्मचारीको सातौँ दिन पिसीआर विधिबाट पुनः परीक्षण गरिने कोषले जनाएको छ। हाल पशुपति क्षेत्रस्थित क्रियापुत्री घर पनि सञ्चालनमा रहेको छ।

क्रियापुत्री घरका पाँच कोठा भने क्वारेन्टिनका लागि राखिएको छ। पशुपतिमा क्रियापुत्री सेवाका लागि ४२ कोठा उपलब्ध छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *