प्रदेशस्तरीय क्रिकेट खेल मैदान निर्माण

डिसी नेपाल
१७ जेठ २०७७ १२:५६

तनहुँ । व्यास नगरपालिका–११ स्थित फराकचौरमा गण्डकी प्रदेशस्तरीय क्रिकेट खेल मैदान निर्माण सम्पन्न भएको छ । पाँच वर्षका अवधिमा रु ४५ लाखको लागतमा एक सय मिटर लम्बाइ र ६५ मिटर चौडाइ रहेको फराकिलो क्रिकेट मैदान निर्माण गरिएको हो ।

युवा तथा खेलकूद मन्त्रालय, गण्डकी प्रदेश मुख्यमन्त्री कार्यलय र नगरपालिकाको आर्थिक सहयोगमा मैदान निर्माण गरिएको कोलढुङ्गा क्रिकेट खेल मैदान निर्माण समितिका अध्यक्ष वीरेन्द्र अधिकारीले जानकारी दिए । हालसम्म नगरपालिकाको रु २५ लाख, मन्त्रालयबाट रु १५ लाख र मुख्यमन्त्री कार्यालयबाट रु पाँच लाख गरी रु ४५ लाखको लागतमा मैदान निर्माण गरिएको हो । आफू अध्यक्ष हुनुअघि पनि नगरपालिका कार्यालयलगायत निकायबाट मैदानका लागि आर्थिक सहयोग भएको उनले बताए ।

त्यस क्षेत्रमा रहेको सार्वजनिकस्थलमा पर्ने भीरपहरालाई डोजरको प्रयोग गरी खारेर खेल मैदान बनाइएको छ । उनले भने ‘गण्डकी प्रदेशस्तरीय क्रिकेट मैदान बनाउने उद्देश्यले मैदान निर्माण गरिएको हो ।’ कूल रु चार करोड ५३ लाखको योजनानुरुप खेल मैदानको निर्माण अघि बढाइएको समितिका अध्यक्ष अधिकारीले बताए ।

नगरपालिकाबाट गत वर्ष विनियोजित रु पन्ध्र लाखबाट सम्पन्न भएको कार्यको नगरपालिकाका उपप्रमुख मीरा जोशी, इञ्जिनीयर राजु पौडेल, जनप्रतिनिधिलगायत टोलीले अनुगमन गरी फर्किसकेको छ । उक्त खेल मैदानमा हाल ५, ८ र ११ साइडको खेल खेल्न मिल्ने क्षमताको क्रिकेट मैदान निर्माण भएको वडाध्यक्ष निरबहादुर खड्काले जानकारी दिए ।

ठुला क्रिकेट खेल प्रतियोगिताका लागि मैदानको क्षेत्रफल अझै अपुग हुने देखिएको छ । उनले भने ‘त्यस क्षेत्रमा रहेको करीब तीन सय रोपनी क्षेत्रफल प्रयोग गर्न सकिने अवस्था रहेको छ ।’ लोडरका माध्यमबाट पेलेर मैदान समथर बनाउने कार्य सम्पन्न भएको र भौतिक संरचना निर्माण बाँकी रहेको उनले जानकारी दिए । उक्त क्रिकेट मैदानको व्यास नगरपालिका कार्यालयले विस्तृत परियोजना प्रतिवेदन तयार गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *