संविधान संशोधन विधेयक संसदमा पेश हुँदै

काठमाडौं। संधिवान संशोधन विधेयक आज बस्ने प्रतिनिधिसभा बैठकमा पेश हुने भएको छ। आज बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले संविधान संशोधन विधेयक पेश गर्दैछ।
आज बस्ने प्रतिनिधिसभा बैठकमा संविधान संशोधन विधेयक पेश हुने कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्वाहाम्फेले जानकारी दिइन्।
भारतले अतिक्रमित गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर सरकारले जेठ सात गने नयाँ नक्सा सार्वजनिक गरेको थियो। नयाँ नक्सा सार्वजनिक गरेपछि निसानछापमा रहेको नेपालको नक्सा परिवर्तन गर्न भन्दै सरकारले जेठ ९ गते शुक्रबार संघीय संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको थियो।
गत बुधबार सरकारले संघीय संसदको प्रतिनिधिसभामा संविधान संशोधन विधेयक पेश गर्ने तयारी गर्दा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले केही दिन समय माग गरेपछि संसदमा संविधान संशोधन प्रस्ताव पेश हुन सकेको थिएन।
शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरेपछि सरकारले आज बस्ने प्रतितिधिसभा बैठकमा संविधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरेको हो।
प्रतिनिधिसभामा कांग्रेसका ६३ जना सांसद छन्। अब संविधान संशोधनका लागि सरकारलाई आवश्यक पर्ने दुई तिहाइ मत निश्चित भएको छ। आज संसदमा पेस भएलगत्तै संशोधन विधयेक सार्वजनिक जानकारीका लागि राजपत्रमा प्रकाशित हुन्छ।