नेपालीले कोरोनाभाइरसलाई टेर्नै छाडे

डिसी नेपाल
१८ जेठ २०७७ १३:३३

काठमाडौं। नेपालमा कोरोनाभाइरसका कारण गरिएको लकडाउनको अवधि अढाइ महिना पुग्नै लाग्दा नागरिकले यसबाट जोगिन उच्च सतर्कता अपनाउन छाड्दै गएको पाइएको छ । सुरुवाती समयमा भन्दा समय बित्दै जाँदा सतर्कताको परिमाण घट्दै गएको देखिएको छ । पछिल्लो समय नागरिकहरुले यो भाइरसलाई पहिलेभन्दा तुलनात्मक रुपमा हल्का रुपमा लिन थालेका छन् ।

सतर्कता फितलो पार्दै गएका नागरिकले यसरी भाइरसलाई हल्का रुपमा लिनुका पछाडि विभिन्न तर्कहरु दिन थालेका छन् । अधिकांशले लामो समयसम्म उच्च सतर्कता अपनाउँदा पनि कोरोना संक्रमित बढ्दै गएकोले सतर्कता अपनाउन छोडेको बताएका छन् ।

केहीले भने कोरोना भाइरस सामान्य रुघाखोकी जस्तै लाग्न थालेकोले खासै ध्यान दिन छोडेको बताउँछन । जति सतर्कता अपनाए पनि केही रोकथाम नहुनेजस्तो लागेकाले सचेत बन्न छोडेको अर्काथरी तर्क गर्छन् ।

नुवाकोट विदुरकी बिमला वस्ती भन्छिन ‘ह्या अब त झ्याउ नै लागिसक्यो कति चाहिँ त्रासमा र कोरोना भन्दै बस्नु ? जति रोकथाम गर्छु भनेपनि आउने रहेछ । मलाई चाहिँ कोरोना भाइरस त्यति गहकिलो लाग्न छोड्यो ।’

नेपालमा कोरोना संक्रमित एक हजार भन्दा माथि पुगिसकेका र भारतबाट नेपाल भित्रने संख्या बढेका कारण अब दुई महिना अति संवेदनशील हुनुपर्ने विज्ञले बताएको भएपनि नागरिकहरुले भने आफूले पहिला भन्दा हात नै कम धुने गरेको बताउँछन् ।

नुवाकोट बेलकोटगढी नगरपालिका सम्राम गजुरेल भन्छन् ‘मैले समाचार सुनिरहेको त हुन्छु । विज्ञहरुले अब दुई महिना उच्च जोखिम छ भन्छन तर मलाई चाहिँ खासै मतलब लाग्न छोड्यो, पहिला त केही छुने बित्तिकै ओहो भनेर दिनमा कति पटक हात धुने गरेको थिएँ अहिले त त्यही पुरानै गति खाना, खाजा खाने बेलामा हो ।’

काठमाडौ हुँदा हात्ती जस्तो लाग्ने कोरोना अहिले कमिलामा बदलिएको जस्तो लाग्ने भन्दै धादिङ महादेव बेसिकी सविना सुवेदी भन्छिन् ‘सुरुमा गाउँ आउँदा त धेरै नै संवेदनशील थिएँ, घर परिवारलाई पनि धेरै कुरा सिकाइयो तर अहिले आफैले सतर्कता अपनाउन छोडिएको छ।काठमाडौ बाट आउदा हात्ती जस्तो लाग्ने कोरोना, अहिले त कमिला जस्तो पनि लाग्दैन । समूहमा नै हिँडिन्छ, गोठालो, घाँस पात गरिन्छ ।’

सर्वसाधारणले बेवास्ता गर्न सुरु गरेपनि तथ्यांकले भने कोरोना संक्रमण बढ्दो क्रममा रहेको देखाउँछ । कोरोना भन्ने शब्द नै सुन्न दिक्क लाग्ने भन्दै रसुवा कालिकास्थानकी प्रमिला अधिकारी भन्छिन् ‘तीन महिना भन्दा पनि बढी भैसक्यो खाली कोरोनाको मात्रै कथा सुन्ने गरेको । अब त एकादेशको कथा जस्तो मात्रै लाग्छ । मैले त यसबारे सुन्न, बोल्न सबै छोडेँ, समाचार पनि सुन्न दिक्क लाग्छ ।’

नागरिकले कोरोनालाई सामान्य मानेर आत्माबल बढाउनु सकारात्मक भएता पनि कोरोनासँग सावधानी अपनाउन छोड्नु भने नकारात्मक भएको विज्ञ बताउँछन् । तर नागरिक भने अझै त्रसित रहने पक्षमा छैनन् । धादिङ धार्केका हरिबोल ढकाल भन्छन् ‘जे गर्नु मिडियाले गर्यो, बास्तवमा कोरोना केही होइन । जहिले पनि कोरोनाबाट यति मरे, यति संक्रमित भन्दै फुक्ने, अनि समाजमा त्रास फैलिएको हो । म त भन्छु अब सराकारले लकडाउन खोले केही हुन्न । सधै लकडाउन गरेर सकिँदेन । कोरोना केही रोगै होइन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *