मजदूरलाई स्वास्थ्य सुरक्षाको व्यवस्थासहित परिचालन

डिसी नेपाल
१८ जेठ २०७७ २१:०८

बुटवल । बुटवल उपमहानगरपालिकाले दैनिक ज्यालादारीका काममा खटिएका मजदूरलाई स्वास्थ्य सुरक्षाको व्यवस्थासहित परिचालन गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत छनौट भएका कामदारलाई सुरक्षाका उपायसहित काममा परिचालन गरिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए ।

बुटवलका तीनवटा वडामा ७८ जनाले दैनिक ज्यालादारीका काम शुरु गरेको प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिए । उनले उनीहरुलाई वडा तहबाट छनौट भएका काममा खटाइएको र सबैलाई स्वास्थ्य परीक्षण गरिएको बताए । उपमहानगरपालिकाको वडा २ मा ४१, वडा ७ मा ६ र वडा नं १० मा ३१ गरी जम्मा ७८ जनालाइ समावेश गर्दै दैनिक ज्यालादारीका काममा खटाइएको छ ।

उपमहानगरले यसअघि पनि वडा नं १६ मा रहेको कपरकट्टी बैठौलिया तालको सरसफाइ र केही संरचना निर्माणका लागि त्यस क्षेत्रकै बासिन्दालाई दैनिक ज्यालादारीका कामको व्यवस्था मिलाएको थियो । अहिले तीनवटा वडामा शुरु भइसकेको यो कार्यक्रम अरू वडामा पनि छिट्टै शुरु गरिने प्रधानमन्त्री रोजगार कार्यक्रमका कार्यक्रम संयोजक अरविन्द्र पाण्डेले जानकारी दिए ।

यस्तै बुटवल उपमहानगरपालिकाले हरेक क्षेत्रमा महामारीविरुद्ध सामाजिक दूरीसहित स्वनियममा बस्न नगरवासीमा अपिल गरेको छ । अत्यावश्यक काम परे पनि पूर्ण सुरक्षाको प्रबन्धसहित घरबाट निस्किन र सामाजिक दूरी कायम राख्न उपमहानगरले आग्रह गर्दै आएको छ ।

बुटवलमा प्रदेशको अस्थायी मुकाम भएको, प्रदेश सरकारका मन्त्रालय, प्रादेशिक अस्पताल, कोरोना विशेष अस्पताल र आइसोलेशन सेन्टरसमेत सञ्चालनमा रहेकाले नागरिकको आवागमन बाक्लो हुने गरेको छ । बुटवलमा मानिसको बाक्लो आवागमन हुने भएकाले उपमहानगरका प्रमुख शिवराज सुवेदी आफँै अनुगमनमा खटेर महामारीविरुद्ध समाजिक दूरीसहित काममा लाग्न अपिल गरेका छन् । अत्यावश्यक काम परेर हिँड्डुल गर्नैपर्ने नागरिकलाई कसरी सहज वातावरण बनाउने र स्वास्थ्यलाई पनि कसरी सुरक्षित राख्ने भन्ने उद्देश्यले बुटवलले नियमित अनुगमन गरेको उनको भनाइ छ ।

केन्द्र प्रदेश र स्थानीय सरकारका कार्यालयहरुलगायत अत्यावश्यक सेवालाई सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जारी गरेको सार्वजनिक अपिलमा भनिएको छ, ‘बुटवलले नै समग्र प्रदेशको अभिभावकत्व निर्वाह गर्ने र लकडाउनको पालना गर्दै नगरका नागरिकको सुरक्षाको समेत प्रबन्ध मिलाउनुपर्ने छ । यसैले सबैले स्वनियम पालना गरौँ र गर्न लगाऔँ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *