रूपन्देहीमा एकै पटक २५ जनाले काेराेनालाई जितेर डिस्चार्ज भए

डिसी नेपाल
१९ जेठ २०७७ १५:२१

रूपन्देही। रुपन्देहीकोे भीम अस्पतालमा उपचारार्थ भर्ना भएका २५ कोरोना संक्रमित निको भएर घर फर्किएका छन्।

गैँडहवा गाउँपालिकाका दश, लुम्बिनी सांस्कृतिक नगरपालिका र कपिलवस्तुका पाँचपाँच, सिद्धार्थनगर नगरपालिकाका एक, नवलपरासीका तीन जना र भारतका एक जना अस्पतालबाट डिस्चार्ज भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा नवीन दर्नालले जानकारी दिए।

प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले डिस्चार्ज भएका बिरामीलाई फूल र खादा ओढाएर बिदाइ गरे। मन्त्री बरालले कोरोना लाग्दैमा आत्तिनु नपर्ने तर सतर्कता भने अपनाउनुपर्ने बताए।

उनले संक्रमितलाई हेयको दृष्टिले नहेर्न पनि आग्रह गरे। डिस्चार्ज भएका बिरामी खुशी हुँदै नाचेर बिदा भएका थिए।  यसअघि आइतबार बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत चार संक्रमित डिस्चार्ज भएका छन्। पछिल्लो पटक गरिएको परीक्षणमा नेगेटिभ देखिएपछि अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिए।

संक्रमितमध्ये कपिलवस्तुको यशोधरा गाउँपालिकाका दुई र बुद्धभूमि नगरपालिकाका एक युवक गत वैशाख ३० गते अस्पताल भर्ना भएका थिए। उनीहरु भारतबाट आएको जनाइएको छ। यस्तै रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका युवकलाई वैशाख २९ मा अस्पताल ल्याइएको थियो। उनी पनि मुम्बईबाट आएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *