स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि हातपात गर्नेमाथि कडा कारवाही गर्न ७७ जिल्लाका सिडियोलाई गृहको निर्देशन
काठमाडौं। क्वारेन्टाइनमा बसेकाहरुले स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने दुव्र्यवहार गर्नेहरुलाई कडा कारवाही गर्न गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।
कोरोना भाइरसको रोकथाममा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुमाथि आक्रमण हुन थालेपछि गृहले सबै जिल्ला प्रशासन कार्यालयलाई बुधबार सो निर्देशन दिएको हो।
गृह मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीले राष्ट्रसेवक कर्मचारीमाथि अभद्र व्यवहार गर्ने, कुटपीट गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्न गृह मन्त्रालयले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको बताए।
उनका अनुसार देशभरका क्वारेन्टाइनमा बसेका व्यक्तिबाट स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमणका घटना बढ्न थालेपछि गृहले प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी कार्यालयलाई त्यस्तो निर्देशन दिएको हो।
उनका अनुसार क्वारेन्टाइन सुरक्षा व्यवस्थापन र त्यहाँ खटिएका कर्मचारीको सुरक्षामा विशेष रणनीत अपनाउन समेत गृहले स्थानीय प्रशासनहरुलाई निर्देशन दिएको छ।
स्वाव संकलनमा खटिएका स्वास्थ्यकर्मीहरुमाथि हातपात, कुटपिट, गालीगलौज गर्ने, कोठा भाडाबाट निकाल्ने, घरमै आउन नदिने जस्ता गैरकानुनी तथा अमानवीय गतिविधि भएका उजुरी तथा गुनासा आएपछि यसलाई कडाइका साथ नियन्त्रण गर्न गृहमन्त्रालय लागेको छ। डोटीको शिखर नगरपालिका–९ दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेव रमेश कुँवरलाई स्थानीले कुटपिट गरी घाइते बनाएका थिए।
कुँवरको अहिले वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने रौतहटमा पनि स्वास्थ्यकर्मीमाथि क्वारेन्टाइनमा बसेकाले कुटपीट गर्दा घाईते भएका छन्। यसअघि बाजुरामा पनि क्वारेन्टाइनमा बसेकाहरुले सुरक्षाकर्मीमाथि हातपात गरेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment