लकडाउनको मोडालिटीका विषयमा छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दै

डिसी नेपाल
२२ जेठ २०७७ १२:४०

काठमाडौं। लकडाउन खुकुलो बनाउन सरकारमाथि दबाव बढ्दै गएपछि सो विषयमा छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दैछ। बिहीबार अपरान्ह बस्ने मन्त्रिपरिषद बैठकमा लकडाउनको मोडालिटीका विषयमा छलफल हुने बताइएको छ।

सरकारले जोन छुट्टयाएर लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको छ। रेड, एल्लो र ग्रीन जोन छुट्टयाएर लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी भइसकेको मन्त्रिपरिषद स्रोतले जनाएको छ। विशेष गरी कोरोना नदेखिएका जिल्लालाई लक गरेर आर्थिक गतिविधि संचालन गर्न दिने तयारी गरेको छ।

‘कोरोना संक्रमण देखिएका जिल्लालाई पूरै लक गरेर त्यहाँ आर्थिक, सामाजिक गतिविधि गर्न दिने तयारी भएको छ,’ मन्त्रिपरिषद स्रोतले भन्यो, ‘कोरोना देखिएका जिल्लामा बाहिरबाट कोही पनि जान नदिने र  जिल्लाभित्रका मानिसलाई पनि बाहिरी जिल्लामा जान नदिने गरी आर्थिक र समाजिक गतिधिवि संचालन गर्न दिने तयारी भएको छ।’

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटीका विषयमा सरोकारवालासँग लामो छलफल गरेका थिए। प्रधानमन्त्री ओलीले बुधबार स्वास्थ्यविज्ञ, सामाजिक अधिकारकर्मीलगायतसँग कोरोना नियन्त्रण तथा लकडाउनको अवस्थामा आर्थिक र समाजिक गतिविधिलाई कसरी सहज बनाउने भन्ने विषयमा छलफल गरेका थिए।

सरकारले यही जेठ ३२ गतेसम्म लकडाउन कामय गरेको र यहीबीचमा भारतलगायत तेस्रो मुलुकमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने योजना सार्वजनिक गरेको छ। सरकारमाथि लकडाउनकै बीच पनि आर्थिक र सामाजिक गतिविधिलाई क्रमशः सचालन गराउने पर्ने दबाब बढेको छ।

यसैगरी उच्चस्तरीय समन्वय समितिले पनि सरोकारवाला निकायसँग छलफल गरी सुझाव संकलन गरिरहेको छ। यसैगरी कानुन न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्वाहाम्फेले प्रमुख दलका प्रमुख सचेतक र सचेतकसँग लकडाउनको मोडालिटीका विषयमा परामर्श गरेर सुझाव संकलन गरेकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *