जरुरी परेकालाई तत्काल ल्याऔं, अरुलाई ल्याउन हतार नगरौं : प्रधानमन्त्री

डिसी नेपाल
२३ जेठ २०७७ २:५२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अप्ठेरोमा परेका र स्वदेश नफर्काई नहुने व्यक्तिहरु छनौट गरेर नेपाल फर्काउन मन्त्रीहरुलाई निर्देशन दिएका छन्।

बिहीबार साँझ अवेरसम्म बसेको मन्त्रीपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले आपत् परेका नेपाली छुटाएर पहुँचवालाहरु मात्र स्वदेश फर्किने स्थिति नबनोस् भन्दै सजग रहन स्वदेश फर्काउने कार्यमा संलग्न उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई निर्देशन दिएका थिए।

उनले स्वदेश फर्काउने कामको निरन्तर अनुगमन गर्न भन्दै संवेदनशील भएर गुनासो रहित काम गर्न मन्त्रीहरुलाई भनेको एक मन्त्रीले डिसी नेपाललाई बताए। उनका अनुसार, प्रधानमन्त्रीले अति आवश्यक परेर विचल्ली भएका, जागिर छुटेर स्वदेश नफर्की नहुने अवस्थामा परेका वा पारिवारिक वा घरेलु अवस्थाका कारण वाध्यतामा परेर फर्कनु पर्ने अवस्थामा पुगेका नेपालीहरु प्राथमिकताका आधारमा ल्याउन भन्दै अरु बांकीलाई हतार गरेर नल्याउन मन्त्रीहरुलाई निर्देशन दिएका थिए।

गम्भीर समस्यामा परेका वाहेक अरु व्यक्तिहरुका हकमा प्रधानमन्त्रीको तहबाट आफैंले सम्बन्धित देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुसँग कुरा गर्ने र उनीहरुका लागि ती देशमै खाने बस्ने प्रबन्ध मिलाउन कोसिस गर्ने उनले बताएका थिए।

विदेशमा अलपत्र परेका र नेपाल आउन चाहने नेपाली कामदारलाई नेपाल फर्काउने कामको शुरुवात आज म्यान्मार र युएईबाट शुरु हुँदैछ।
बितेका केही महिना यताका झैं जेष्ठ २२ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठक पनि कोरोनाबाट शुरु भएर कोरोनामा नै अन्त्य भयो। एक मन्त्रीले दिएको जानकारीअनुसार लकडाउनको मोडालिटीमा अझ मेहनत र छलफलको जरुरी रहेकोबारेमा प्रधानमन्त्रीले जोड दिए। त्यसमा कसैको असहमति थिएन।

कृषिमा सहुलियतको प्याकेज बनाउन निर्देशन

प्रधानमन्त्री ओलीले कृषि मन्त्री घनश्याम भुसाललाई तत्काल कृषकहरुलाई के कस्तो सहुलियत दिन सकिन्छ भन्ने बारे एउटा प्याकेज बनाउन निर्देशन दिएका छन्। त्यसैगरी प्रधानमन्त्रीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पनि स्वास्थ्य सुविधा उचित ढंगले पुर्याउने गरी प्याकेज बनाउन भनेका थिए। दुबै मन्त्रीहरुले प्रधानमन्त्रीको निर्देशनलाई स्वीकारोक्ति सूचक टाउको हल्लाएर सहमति जनाएको बताइएको छ ।

अनि हाँसे मन्त्रीहरु

यसै पनि मन्त्री परिषद् बैठकमा प्रधानमन्त्री बोल्ने अरु सुन्ने हुन् । साँझ ५ बजे शुरु भएको बैठक ८.०० वजेसम्म चल्यो। त्यसमा अधिकांश समय प्रधानमन्त्रीले कुरा राखे। प्रधानमन्त्रीले महोत्तरी लगायतका जिल्लाका घटनामा ध्यान दिँदै त्यहाँ पढ्न नपाएका बालबालिकाको पढ्ने व्यवस्था मिलाउन शिक्षामन्त्री गिरिराजमणि पोख्रेललाई निर्देशन दिए।

बैठकमा श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तर्फबाट संसदमा प्रस्तुत गर्न लागिएको विधेयकका बारेमा पनि सामान्य छलफल भयो। विधेयकमा १९ वर्ष उमेर समूहलाई बालबालिकामा गणना गर्नु पर्ने प्रस्ताव थियो। प्रधानमन्त्रीले प्रश्न गरे, १५,१६ वर्षका केटाकेटीका अनेक कर्तुत सुनिन्छ, कसरी १९ वर्षकालाई बालक भन्ने ? हाँसोको फोहरा छुट्यो। स्रोतका अनुसार, धेरै हप्तापछि मन्त्रिमण्डलमा पहिलोपटक सबै मन्त्री हाँसे।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *