एकैपटक २५ सरकारी विद्यालयमा दरबन्दीमा थिइन् शिक्षिका, १ वर्षमा लिइन् डेढ करोड तलब

डिसी नेपाल
२३ जेठ २०७७ १४:३७

काठमाडौं। एक जना शिक्षिकाले एकैपटक २५ वटा छुट्टाछुट्टै सरकारी विद्यालयमा अध्यापन गराइरहेको रेकर्ड देखाएर १ वर्षको अवधिमा डेढ करोडभन्दा धेरै तलब लिएको आश्चर्यजनक घटना सार्वजनिक भएको छ । टाइम्स अफ इण्डियाको समाचार अनुसार उत्तर प्रदेश राज्यको आधारभूत शिक्षा विभाग अन्तर्गत संचालित कस्तुरबा गान्धी बालिका विद्यालयकी ती शिक्षिकाले एकैपटक राज्यका २५ वटा स्कुलमा काम गरेको रेकर्डमा देखिएको छ । विभागले शिक्षकहरुको डाटाबेस बनाउन सुरु गरेपछि यो घोटालाको खुलासा भएको हो । अब विभागले यस विषयमा जाँचको आदेश दिएको छ ।

आधारभूत शिक्षा विभागका अनुसार जब शिक्षकहरुको डिजिटल डाटाबेस बनाइँदै थियो त्यस क्रममा ती फुलटाइमर शिक्षिका अमेठी, अंबेडबर नगर, रायबरेली, प्रयागराज, अलीगढ र अन्य जिल्लाहरुमा गरी एकैपटक २५ स्कुलमा काम गरिरहेकी पाइएकी हुन् । एक डिजिटल डाटाबेस पहिल्यै हुँदा पनि ती शिक्षिकाले यस वर्षको फेब्रुअरीसम्मको तलब घोटाला गरेर विभागबाट लिन सफल भएको देखिएको छ ।

शिक्षिकाले १३ महिनाको तलब लगभग १ करोड भारु (१ करोड ६० लाख नेपाली रुपैयाँ) लिकालेकी छिन् । विभागका अनुसार अनामिका शुक्ला नामकी महिला २५ स्कुलहरुमा शिक्षिकाको रुपमा काम गरिरहेकी थिइन् । विभागसँग उपलब्ध जानकारीका अनुसार उनी मैनपुरी जिल्लाकी निवासी हुन् । विभागले अनामिकालाई नोटिस पनि पठाएको छ तर कुनै जवाफ आएको छैन । अहिलेको लागि उनको तलब रोक्का गरिएको छ र उनले तलबका लागि प्रयोग गरेका बैंक खाताको जाँच भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *