‘सिद्धार्थ आर्थिक करिडोर’को भर्चुअल बैठक, १५ स्थानीय तहको साझा चासोमा छलफल हुँदै

डिसी नेपाल
२३ जेठ २०७७ १६:५९

तानसेन। दुई प्रेदश, ४ जिल्लाका १५ नगर र गाउँपालिकाको साझा संगठनको रुपमा विकास गर्न लागिएको सिद्धार्थ आर्थिक करिडोरको भर्चुअल बैठक शनिबार बिहान हुने भएको छ । शनिबार बिहान ८ बजे सुरु हुने बैठकमा सिद्धार्थ राजमार्गसँग जोडिएका क्षेत्रको समग्र आर्थिक सामाजिक चासोको बारेमा छलफल हुनेछ ।

पूर्व बजेट तयारी बैठक भनिएको यो बैठकले आगामी आर्थिक वर्षको लागि विनियोजित बजेटको सही व्यवस्थापनका विषयमा पनि छलफल गर्नेछ । यसअघि पनि यस विषयमा छलफलहरु सुरु भइसकेका छन् । पछिल्लो बैठक कोभिड–१९ महामारीका कारण रोकिएपछि भर्चुअल रुपमा गर्न लागिएको हो ।

अभियानको संयोजन अहिले तानसेन नगरपालिकाले गरिरहेको छ । स्थायी संरचना निर्माण हुँदासम्म यसको सचिवालयदेखि समन्वयको जिम्मेवारी तानसेन नगरपालिकाले लिएको नगरपालिकाका अध्यक्ष अशोककुमार शाहीले बताए । शाहीका अनुसार भोलिको बैठकमा प्रदेश ५ र गण्डकी प्रदेशका योजना आयोगका प्रमुखहरु, स्वासथ्य मन्त्रालयका विज्ञ, सबै गाउँपालिका तथा नगरपालिकाका प्रमुख वा प्रतिनिधिको सहभागिता रहनेछ ।

सिद्धार्थ राजमार्गले छोएका गाउँ तथा नगरको आर्थिक विकासका लागि समन्वय र सहकार्य गर्नको यो यो भर्चुअल बैठक आयोजना गर्न लागिएको हो । राजमार्ग क्षेत्रका जनताको आर्थिक विकासका लागि पालिकाहरुले संयुक्तरुपमा पहल गर्न एकै थलोमा जम्मा भएको शाहीले बताए।

वैठकले यस राजमार्गमा रहेका पालिकाहरुले संयुक्त रुपमा सञ्चालन गर्न सकिने योजनाहरुको पहिचान, छनौट र कार्यान्वयनको लागि छलफल र सहमति गर्ने प्रमुख शाहीले बताए । सहकार्यमा गर्न सकिने योजनाहरुको लागि पालिकाहरुले बजेट विनियोजन र कार्यान्वयनको लागि संरचनाको तयसमेत गर्ने उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *