अर्थमन्त्री डा.खतिवडाले थर्काएपछि बिमा समितिले फिर्ता लियो निर्णय, कोरोना बिमा सुचारु हुने

डिसी नेपाल
२३ जेठ २०७७ १८:०३

काठमाडौं । बिमा समितिले कोरोनाको बिमा स्थगन गर्ने निर्णय फिर्ता लिएको छ । विहिबार समितिले एक विज्ञप्ति जारी गर्दै शुक्रबारदेखि कोरोना बिमा स्थगन गर्ने निर्णय लिएको थियो तर सो निर्णय एक दिन पनि वित्न नपाउँदै समितिले फिर्ता लिएको छ ।

समितिका अनुसार केही परिवर्तनहरु गरेर पुन कोरोना बिमा विक्रिका लागि बिमा कम्पनीहरुलाई निर्देशन दिइएको छ । समितिद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘ बिमा समितिले अब गरिने कोरोना बिमाको अवधि भने चैत मसान्तसम्मको हुने गरी परिवर्तन गरिएकोछ, यसअघि भने एक बर्षको अवधि थियो ।’

विहिबार नेपाल बिमक संघले कोरोनाको विरामी बढ्दै गएको र बिमक कम्पनीहरुको जोखिम बढीरहेको भन्दै कोरोना बिमा स्थगित गर्ने निर्णय गरेको थियो । उनीहरुको निर्णयमा नै सहमत भएर बिमा समितिले कोरोना बिमा स्थागित गर्ने निर्णय गरेको थियो ।

सरकारले आगामी आर्थिक बर्षको बजेटमा कोरोना विमाको कार्यक्रम अगाडी ल्याएको र बजेटको कार्यान्वयन हुनुपुर्व नै कोरोना बिमा बन्द गरेको भन्दै अर्थमन्त्री डा.खतिवडाले समितिका अध्यक्ष चिरन्जीवी चापागाईलाई थर्काएका थिए । त्यसपछि समितिले कोरोना बिमालाई निरन्तरता दिन निर्देशन दिएको हो ।

यसअघि नै पोलिसी खरिद गरिसकेकाहरुका हकमा भने एक वर्षसम्म दावी लागु हुनेछ । समितिले गत बैशाख ४ गते कोरोना बीमालेख बिक्री गर्न अनुमति दिएपछि २० वटा बीमा कम्पनीले वैशाख ७ गतेबाट कोभिड बीमा लेख बिक्रि गर्दै आएका थिए ।

करिब डेढ महिनाको अवधिमा ३ लाखले कोभिड १९ बीमा लेख खरिद गरेका छन् । सो पोलिसीबाट १६ करोड ५० लाख रुपैयाँ भन्दा बढीको प्रिमियम संकलन भएको छ ।

सरकारले बजेट मार्फत सबै सरकारी कर्मचारीहरुको कोरोना बीमा गर्ने घोषणा गरेको छ । त्यस्तै, कोरोना बीमाको ५० प्रतिशत प्रिमियम अनुदानका रुपमा उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ । हाल नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत र २० वटा निर्जिवन बीमा कम्पनीहरुले ४.४ प्रतिशत जोखिम बोकेर कोरोना बीमा पोलिसी बेचिँदै आएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *