भारतमा अक्सफोर्डको कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन सुरु, भ्याक्सिन बेचेर नाफा नकमाउने

डिसी नेपाल
२४ जेठ २०७७ १२:२१

काठमाडौं। अक्सफोर्ड विश्वविद्यालयले तयार गरेको कोरोनाभाइरसविरुद्धको भ्याक्सिनको छिमेकी देश भारतमै उत्पादन सुरु भएको छ । भारतमा १ अर्ब डोज उत्पादन गरिनेछ र यहाँ उत्पादन भएको भ्याक्सिन गरिब तथा मध्यम आय भएका देशहरुलाई वितरण गरिनेछ । अक्सफोर्ड विश्वविद्यालयसँग भ्याक्सिन उत्पादनको लागि सम्झौता गरेको बेलायती कम्पनी एस्ट्राजेनेकाले भ्याक्सिन उत्पादन सुरु गरेको हो ।

एस्ट्राजेनेकाका सिइओ पास्कल सेरिओटले बीबीसीसँगको कुराकानीका क्रममा आफ्नो कम्पनीसँग २ अर्ब डोज उत्पादन गर्ने क्षमता भएको बताएका छन् । सेरिओटका अनुसार बेलायत, स्विट्जरल्याण्ड, नर्वे र भारतका विभिन्न कम्पनीहरुसँग सम्झौता गरी ती कम्पनकिा फर्मबाट भ्याक्सिन उत्पादन सुरु गरिएको हो । अक्सफोर्ड विश्वविद्यालयले कोरोनाभाइरसविरूद्ध एजेडडी १२२२ नामबाट भ्याक्सिन विकास गरेको छ । सुरुवाती ट्रायलमा यो भ्याक्सिनले निकै राम्रो परिणाम देखाएको छ । अर्को चरणको ट्रायल अहिले जारी छ ।

एस्ट्राजेनेकाका सिइओ सेरिओटले बीबीसीसँग कुरा गर्दै अहिले भ्याक्सिन उत्पादन सुरु गरेको र ट्रायलको परिणाम आउँदासम्म भ्याक्सिन तयारी अवस्थामा हुने बताएका छन् । भ्याक्सिनको ट्रायल सफल नभएमा उत्पादन भइसकेका भ्याक्सिन खेर जाने जोखिम हुँदाहुँदै पनि उनले जोखिम उठाएरै भ्याक्सिन उत्पादन सुरु गरिएको बताए । उनले विश्व स्वास्थ्य संगठनले महामारी समाप्त भएको घोषणा नगर्दासम्म भ्याक्सिनबाट कम्पनीले नाफा नकमाउने पनि जानकारी दिए ।

सेरिओटका अनुसार एस्ट्राजेनेकाले भारतको सिरम इन्स्टिच्युट अफ इण्डियासँग १ अर्ब डोज भ्याक्सिन उत्पादन गर्ने सम्झौता गरेको छ । सिरम इन्स्टिच्युट उत्पादन क्षमताका आधारमा विश्वकै सबैभन्दा ठूलो भ्याक्सिन उत्पादक कम्पनी हो । एस्ट्राजेनेकाले २०२१ सम्ममा १ अर्ब डोज उत्पादन गर्ने लक्ष्य लिएको छ । २०२० को अन्त्यसम्म ४० करोड डोज उत्पादन हुन सक्ने कम्पनीले जनाएको छ । एस्ट्राजेनेकाले यही सेप्टेम्बरसम्म विश्वभरका कम्पनीका फ्याक्ट्रीहरुमा लाखौं डोज तयार भइसक्ने जनाएको छ ।

कम्पनीका अनुसार २०२१ को मध्यसम्ममा २ अर्ब डोज तयार हुनेछन् । कम्पनीले अमेरिकालाई ४० करोड डोज भ्याक्सिन आपूर्ति गर्ने सम्झौता गरेको छ । कम्पनीले बेलायतलाई १० करोड डोज भ्याक्सिन दिनेछ । यद्यपि भ्याक्सिनको आपूर्ति अक्सफोर्ड विश्वविद्यालयको सफलतामा निर्भर गर्नेछ । अक्सफोर्ड विश्वविद्यालयले अगष्टसम्म भ्याक्सिनको ट्रायलको अन्तिम परिणाम जारी गर्न सक्छ ।

सुरुवातमा एजेडडी १२२२ भ्याक्सिनको परीक्षण १८ देखि ५५ वर्षका १६० स्वस्थ स्वयंसेवकहरुमा गरिएको थियो । त्यसपछि दोस्रो र तेस्रो चरणको ट्रायल सुरु गरियो । तेस्रो चरणमा अक्सफोर्ड विश्वविद्यालयले भ्याक्सिन टेस्टमा बालबालिका र वृद्धहरुलाई पनि सहभागी गराउँदैछ । यस क्रममा कूल १० हजार २६० जनामा भ्याक्सिनको ट्रायल गरिँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *