कोरोनासँग लड्दै आर्थिक गतिविधि अगाडी बढाउनुपर्छ : अर्थमन्त्री

डिसी नेपाल
२५ जेठ २०७७ १६:४८

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनासँग लड्दै आर्थिक गतिविधिलाई अघि बढाउनुपर्ने आवश्यक्ता औल्याएका छन् । कोरोना विरुद्धको लडाइ लड्दै गर्दा दैनिक आवश्यक्ता पुरा गर्नका लागि पनि अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक भएको उनको भनाई थियो ।

‘हामी कोरोना विरुद्धको लडाइमा छौं यसलाई हामी जित्छौं नै’ नेपाल धितोपत्र बोर्डको वार्षिकउत्सव कार्यक्रमसँग बोल्दै अर्थमन्त्री खतिवडाले भने, ‘अब पहिला यो लडाइ जितौं अनि अरु क्रियाकलाप गरौं भन्ने होइन कोरोनासँग लड्दै अघि बढ्नुपर्छ ।’ मानव जीवन रक्षा पहिलो प्राथमिकता भएपनि दैनिक आवश्यक्ता पुरा गर्नका लागि आर्थिक क्रियाकलाप चलायमान बनाउनुपर्ने उनको भनाइ थियो ।

कोरोना संक्रमण नहुने गरी आवश्यक सुरक्षा अपनाउदै उद्योग, प्रतिष्ठान, बैंकिङ, बिमालगायतका व्यवसाय संचालन गर्न अर्थमन्त्री खतिवडाले निर्देशन दिए । यस्तै लकडाउनका कारण लामो समयसम्म पुँजी बजारको कारोबार बन्द रहेको भन्दै उनले बजार खोल्नका लागि आवश्यक तयारी थाल्न पनि निर्देशन दिए ।

कोरोनाले विश्वका अधिकांश देशको आर्थिक वृद्धिदर नकारात्मक हुने प्रक्षेपण भएपनि नेपालको बृद्धिदर नकारात्मक नहुने अर्थमन्त्री खतिवडाले दावी गरे । उनले आगामी वर्षका लागि विगत तीन वर्षमा हासील गरिएको औशत आर्थिक वृद्धिदर ७ प्रतिशतको लक्ष्य राखिएको र त्यसका लागि पुँजी परिचालन गर्न धितोपत्र बजारको भूमिका महत्वपूर्ण उल्लेख गरे ।

अर्थमन्त्री खतिवडाले पुजी बजारमा सबैको पहुँच पुर्याउन, सर्वसाधारणको सहभागिता सुनिश्चित गर्न पनि निर्देशन दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *