स्वदेश फर्कन नपाएपछि कुवेतमा नेपाली आक्रोशित, सेल्टरबाटै प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी

डिसी नेपाल
२६ जेठ २०७७ २०:१३

काठमाडौँ । कुवेतमा आममाफी पाएर स्वदेश फर्कने दिन कुरेर बसिरहेका नेपालीले आफूहरु स्वदेश फर्कन नपाएको भन्दै नेपाल सरकारप्रति आक्रोश पोखेका छन् ।

उनीहरुले शनिबार साँझ कुवेतको सेल्टरबाटै नेपालका प्रधानमन्त्री केपी ओली, परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र कुवेतस्थित नेपाली दूतावासविरुद्ध नारावाजी गरेका छन् ।

नेपाल सरकारले आममाफीको फाइदा उठाउन नसकेको भन्दै सेल्टरमै केपी ओली मुर्दाबाद, परराष्ट्र मन्त्री मुर्दाबाद, नेपाली राजदूतावास मुर्दाबाद भन्दै उनीहरुले चर्काे नाराबाजी गरेका थिए । तर, उनीहरुले कुवेत सरकारको भने तारिफ गर्दै कुवेत सरकार जिन्दावाद भनेर नारा लगाएका थिए ।

‘हामीलाई स्वदेश फर्काउने खर्च नेपाल सरकारले व्यहोर्नुपर्दैन,’  आक्रोशित एक युवाले भने, ‘कुवेत सरकार आफैँले चार्टर गरेर पठाउने हो। तर पनि नेपाल सरकारले बेवास्ता गरिरहेको छ ।’

कुवेतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अवैध आप्रवासी श्रमिकलाई स्वदेश फर्काउन त्यहाँकाे सरकारले जरिवानासमेत मिनाहा गरी आममाफी दिएको थियो । कुवेतस्थित नेपाली दूतावासका अनुसार यसरी आममाफी पाएर २८ सय नेपाली स्वदेश फर्कने दिन कुदै सेल्टरमा बसिरहेका छन् ।

उनीहरुले ४३ दिन बितिसक्दा समेत बितिसक्दा पनि आफूहरुलाई फर्काउन सरकारले कुनै प्रभावकारी कदम नदेखाएको भन्दै सरकारप्रति आक्रोश पोखेका हुन् । आफूलहरुलाई कुवेत सरकारले दुई महिनादेखि पालेर राखेको तर आफ्नै सरकारले बेवास्ता गरेको उनीहरुको आरोप छ ।

कुवेत सरकारले आफ्नै खर्चमा विमान चार्टर गरेर पठाउन लाग्दा समेत नेपाल सरकारले ढिलाइ गर्दा समस्या बढेको भन्दै उनीहरुको आक्रोष व्यक्त गरेका हुन् ।

भारत, बंगलादेश, फिलिपिन्सलगायतका मुलुकले आफ्ना आममाफी पाएका नागरिकहरूलाई स्वदेश लगिसकेका छन्। तर नेपाल सरकारले आममाफी पाएकाहरूलाई समेत स्वदेश फर्कन अनुमति दिएको छैन।

भिडियो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *