रंगभेदविरोधी आन्दोलनको समर्थनमा सक्रिय हुन न्याकको आग्रह

डिसी नेपाल
२७ जेठ २०७७ २:०६

वासिंगटन डिसी । अमेरिकामा जारी रंगभेद विरोधी आन्दोलन ‘ब्ल्याक लाइफ म्याटर्स’ प्रति ऐक्यबद्धता जनाउंदै भर्जिनियामा रहेको नेपालीहरुको संस्था नेपाली अमेरिकन कम्युनिटी सेन्टर (न्याक)ले सो आन्दोलनमा सहभागिता जनाउन नेपाली समुदायमा आह्वान गरेको छ ।
न्याकका तर्फबाट सोमबार जारी विज्ञप्तिमा नेपालिज फर ब्ल्याक लाइभ्स म्याटर्स ह्यासट्यागका साथ अमेरिकामा रहेको नेपाली अमेरिकी समुदायलाई रंगभेद विरोधी अभियानमा सहभागिताको आह्वान गरेको छ । विज्ञप्तिमा भनिएको छ,“ नेपाली अमेरिकन कम्युनिटी सेन्टरका हामी नेपाली अमेरिकामा रंगभेद, अन्याय, प्रहरीको निर्मम व्यबहार र नागरिक हकको हननका विरुद्ध यहांको काला समुदायको साथमा छौं ।”
प्रहरीको निर्मम दमनका कारण जर्ज फ्लोइडको प्रहरीकै नियन्त्रणमा रहेका बेला ज्यान गएपछि अमेरिकामा रंगभेद विरोधी आन्दोलनले गति लिएको छ । सो आन्दोलनमा ऐक्यवद्धता जनाउंदै न्याकले आआफ्नो तर्फबाट आआफ्नो तरिकाले सो अभियानमा सहभागिता जनाउन नेपाली अमेरिकनहरुलाई भनेको छ । उसले प्रदर्शनहरुमा सहभागी हुंदा कोभिड १९ को प्रकोपको ख्याल गर्न र माक्स लगाएर तथा सामाजिक दुरी कायम गरेर त्यस्ता प्रदर्शनमा सहभागी हुन आह्वान गरेको छ । कोभिड १९ आफूलाई भएको आशंका भएमा प्रदर्शनमा सहभागी नहुन र समुदायलाई जानकारी दिन आग्रह गर्दै न्याकले घरैबाट गर्न सकिने आन्दोलनका अन्य कार्यहरुजस्तै पिटिसनमा हस्ताक्षर गर्ने, आर्थिक सहयोग प्रदान गर्ने तथा सचेतना फैलाउने काम गर्न आग्रह गरेको छ । उसले आफ्नो नेपाली अमेरिकन समुदायलाई रंगभेद विरोधी अभियानमा काला जातिसंगको ऐक्यबद्धता जनाउनु र सक्रिय सहभागी हुनुको कारण र महत्वका बारेमा पनि जानकारी गराउन आह्वान गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *