आफ्नी गर्लफ्रेण्डलाई राम्री भन्दा साथीले कुटीकुटी मारे, हत्याराले नै प्रहरी बोलाए

डिसी नेपाल
२ असार २०७७ ११:३९

काठमाडौं । मोटरबाइक र प्रेमीकाको विषयमा साथीहरुबीच आपसमा झगडा गर्दा पोखरामा एक युवकले ज्यान गुमाएका छन् । नयाँ मोटरसाइकल किनेर साथीहरुमाझ खुशीयाली मनाइरहेका अमित रसाइलीको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार अमितले नयाँ मोटरसाइकल किनेपछि अरु तीन जना साथीहरुलाई बोलाएर बाघमारा चौरमा पार्टी दिएका थिए । त्यही क्रममा उनीहरुबीच मोटरबाईक र गर्लफ्रेण्ड विषयमा कुराकानी शुरु गरेपछि सबै जनाले आफ्नी गर्लफ्रेण्डको बयान गर्दा गदै झगडा शुरु भएको अन्य साथीहरुले अमितलाई हेल्मेटले हानेर बेहोस बनाएका थिए । अमित बेहोस भएपछि उनीहरुले थप ढुंगाले टाउकोमा हानेर हत्या गरी सेती खोंचमा फ्याकेका थिए ।

एसपी कार्कीका अनुसार पोखरा ३२ का २१ वर्षे अमित रसाइलीलाई उनकै साथीहरुले गर्लफ्रेण्डको विषयमा झगडा गरेर हत्या गरी फ्याकेका हुन् । प्रहरीले रसाइलीको शव आइतबार बिहान सेती खोंचमा फेला पारेको थियो । ‘उनीहरु शनिवार राती रमाइलो गर्न बाघमाराको चौरमा गएका रहेछन् त्यही गर्लफ्रेण्डको विषयमा झगडा हुँदा साथीहरुले नै हत्या गरेको देखिन्छ’, एसपी कार्कीले भने ।

शनिबार रातको करिब ९ बजे मोटरसाइकल किनेको खुसियालीमा साथीहरुलाई पार्टी दिन भनेर घरबाट हिँडेका उनी बेपत्ता भएका थिए । रसाइली हराएको भनी उनीसँगै पार्टी खाएका साथीहरुले नै आइतबार बिहान साढे तीन बजे खबर गरेपछि जिल्ला प्रहरी कार्यलय कास्कीले खोजेको थियो । ‘जस्ले हत्या गर्यो उनीहरुले साथी हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए’, एसपी कार्कीले भने, ‘रसाइलीसँगै गएका ४ जना साथीहरुसँग सोधपुछ गर्ने क्रममा उनकै साथीहरुले हत्या गरी सेती नदीमा फालेको खुल्यो ।’

प्रहरीका अनुसार मोटरसाइकल किनेको खुशीयालीमा पोखरा ३३ बाघमाराको चौरमा जम्मा भएर लोकल रक्सी, चाउचाउ र चुरोट खाँदै गफ गर्दा उनीहरुबीच बाइक र गर्लफ्रेण्ड कसको राम्रो भन्ने चर्चा गर्दा विवाद शुरु भएको थियो । झगडा सुरु भएपछि साथीहरुले अमितलाई हेल्मेट र ढुंगाले टाउकामै हिर्काएर हत्या गरेको थिए । प्रहरीले अमितको हत्या गरेको आरोपमा २० वर्षे मनीष श्रेष्ठ, २१ वर्षे सुनम गुरुङ, २१ वर्षका शंकर सुनार र कृष्ण सुनारलाई पक्राउ गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *