तीन दशकपछि गोपाल गाउँ फर्के

डिसी नेपाल
४ असार २०७७ १४:५४

सोलुखुम्बु। घर छाडेर हिँडेको करिब ३० वर्षपछि नेचासल्यान–३ का गोपाल नेपाली गाउँ फर्केका छन्। नेपाल रेडक्रस सोसाइटी र नेचासल्यान गाउँपालिकाको संयुक्त प्रयासमा करिब ५० वर्षीय नेपालीलाई गाउँ ल्याइएको हो।

विसं २०४७ तिर घर छाडेको बताउने नेपाली केही दिन अगाडि वीरगञ्ज आएपछि प्रहरीमार्फत त्यहाँको स्थानीय सरकारले क्वारेन्टिनमा राखेको थियो। क्वारेन्टिनमा रहेकाको पहिचान गर्ने क्रममा उनले सोलुखुम्बुको नेचा घर बताएका थिए। नेपाल रेडक्रस सोसाइटीको पारिवारिक सम्पर्क पुनःस्थापना केन्द्रमार्फत उनको स्थायी ठेगाना पहिचान शुरु गरिएको थियो।

सामाजिक सञ्जालमार्फत उनको फोटो पोष्ट गरेपछि पहिचान भएको र १४ दिन वीरगञ्जको क्वारेन्टिनमा बसेका नेपालीलाई जन्मस्थल नेचा ल्याइएको गाउँपालिका अध्यक्ष डुफकुमार बाँस्तोलाले जानकारी दिए। नेपाल रेडक्रस सोसाइटी उपशाखा नेचाका सभापति रोहित बाँस्तोलासहितको टोलीले उनको उद्धार गरी जिल्ला ल्याएपछि मङ्गलबार गाउँपालिकाको जिम्मा लगाइएको छ।

गाउँपालिकाको क्वारेन्टिनमा १४ दिन राखेपछि मात्रै परिवारको जिम्मा लगाइने गाउँपालिकाले जनाएको छ। उच्च जोखिमयुक्त क्षेत्रबाट आएका नेपालीको पिसीआर र आरडिटी रिपोर्ट नेगेटिभ आएपछि अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्ने गाउँपालिका अध्यक्ष बाँस्तोलाको भनाइ छ।

गाउँघरका व्यक्तिमध्ये भुपाल किराँतीको नाम लिन सक्ने गोपाल नेपालीले लामो समयपछि गाउँ आउन पाएकामा खुशी व्यक्त गरे। उनले उद्धारमा खटिने नेपाल रेडक्रस र गाउँपालिकालाई धन्यवाद व्यक्त गरे। भारतको पञ्जाबमा खेतीकिसानी गर्दै आएको बताउने नेपाली अब नेपालमै बस्ने बताउँछन्।

यस्तै विसं २०७२ को महाभूकम्पको बेला सम्पर्कविहीन थुलुङदूधकोशी गाउँपालिका–५ जुबुका मीनबहादुर बस्नेत पनि परिवारको सम्पर्कमा आएका छन्। काठमाडाैं बस्दै आएका बस्नेत पाँच वर्षदेखि सम्पर्कविहीन भएको उनका भाइ धिरेन्द्रले बताए।

“कोरोनाका कारण हाम्रो दाजु सम्पर्कमा आउनुभयो”, उनले भने, “काठमाडाैंको नयाँ बसपार्क क्षेत्रको एक होटलमा बसेको छु भन्ने खबर आयो, अहिले फोन सम्पर्क भइरहेको छ।” कोरोनाको कारण खर्चसमेत अभाव भएको र अस्वस्थ भएपछि परिवारको सम्पर्कमा आएको मीनबहादुरको भनाइ छ। लकडाउन खुलेर सहज वातावरण निर्माण भएपछि गाउँघर आउने उनले बताए। विवाह गरी बालबच्चासमेत भएका बस्नेत यो भन्दा अगाडि कहाँ कसरी बसेका थिए भन्नेबारे केही पनि खुलाउन चाहेनन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *