सुशान्तको आत्महत्याले सलमान, आलिया, सोनम, करणसहितका सेलिब्रेटीलाई झट्का

डिसी नेपाल
६ असार २०७७ १२:४९

मुम्बइ। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्याले बलिउडमा कैयौं प्रश्न उठाएको छ । कंगना रनोटले भाइभतिजावादको विषय उठाएसँगै बलिउडमा स्टारहरु सलमान खान, करण जौहर, आलिया भट्ट, सोनम कपुर लगायत प्रश्नको घेरामा आएका छन् । उनीहरुले सुशान्तलाई बलिउडबाट निकाल्नको लागि धेरै प्रयास गरेको आरोप लागेको छ । यो प्रकरणमा नाम आएका यी स्टारहरुलाई नराम्रो धक्का लागेको छ । उनीहरुका फ्यान लाखौंको संख्यामा घट्दै गएका छन् ।

भाइभतिजावादको आरोप लागेका यी सेलिब्रेटीहरुलाई मनोरञ्जन क्षेत्रको वेबसाइट फिल्मीज्ञानले सुशान्तको मृत्यु भएपछि नै निरन्तर निगरानी गरिरहेको छ । सुशान्तको मृत्युपछि १८ जूनसम्म आइपुग्दा ती सबै सेलिब्रेटीका फलोअर लाखौंको संख्यामा घटेका छन् । अर्कोतर्फ कंगना रनोटका फलोअर भने करोडौंको संख्यामा बढेका छन् ।

सुशान्तको मृत्युपछि कंगनाले करण जौहरलाई निशाना बनाउँदै भिडियो पोस्ट गरेकी थिइन् । भिडियोमा कंगनाले करणले स्टारकिड्सलाई मात्रै प्राथमिकता दिने आरोप लगाएकी थियन् । कंगनाले साना शहरबाट आउने र गडफादर नभएरै आफ्नो स्थान बनाउन चाहनेलाई बलिउडमा टिक्न नदिइने आरोप लगाएकी थिइन् ।

कंगनाको यो प्रस्ट कुरा बलिउडप्रेमीहरुलाई अत्यन्तै मन परेको देखिएको छ । कंगनाको इन्स्टाग्राममा ४ दिनमै करोडौंको संख्यामा फलोअर बढेका छन् । १४ जूनमा कंगनाका २ करोड २५ लाख ९ हजार फलोअर थिए । १८ जूनसम्म यो संख्या बढेर ४ करोड २३ लाखभन्दा बढी भइसकेको छ ।

सुशान्तको मृत्यु भएको दिन १४ जूनमा करण जौहरका १ करोड १० लाख ७८ हजार फलोअर थिए । ४ दिनपछि १८ जूनमा यो संख्या घटेर १ करोड ६ लाख ५५ हजारमा झरेको छ । करणका ४ लाखभन्दा धेरै फलोअरले ४ दिनमै उनलाई अनफलो गरेका छन् । करणको हरेक मिनेट करिब ५० फलोअर घटिरहेका छन् ।

सलमान खानका फलोअरको संख्या पनि यस्तै गरी घटिरहेको छ । १८ जून राती १२ बजेसम्म सलमान खानका इन्स्टाग्राम फलोअर ३ करोड ३७ लाख १२ हजार मात्र बाँकी रहे । सुशान्तको मृत्युको भोलिपल्ट १५ जूनमा सलमानका फलोअर ३ करोड ४० लाख ९६ हजार थिए ।

सोनम कपूरले सुशान्तको आत्महत्याको दोषी रिया चक्रवर्ती भएको भन्नेहरुलाई लक्षित गर्दै पोस्ट गरेकी थिइन् । यसका साथै करणको शोको एउटा भिडियो पनि भाइरल भएको थियो जुन भिडियोमा सोनमले सुशान्तको नाम सुनेपछि आफूले उनलाई चिन्दै नचिनेको जस्तो गरेकी थिइन् । १८ जूनसम्म सोनमका २ करोड ८९ लाख ४२ हजार फलोअर बाँकी थिए । जबकि १५ जूनमा उनका फलोअर २ करोड ९२ लाख ५९ हजार थिए ।

आलिया भट्टका पिता महेश भट्ट र काका मुकेश भट्ट पनि सुशान्तको आत्महत्यापछि चर्चामा थिए । आलियामाथि पनि नेपोटिज्मको आडमा फिल्म पाएको आरोप लाग्ने गरेको छ । यही कारण आलियाका फ्यान पनि घटेका छन् । १८ जूनसम्म आलियाका ४ करोड ७७ लाख ७३ हजार फलोअर बाँकी थिए । जबकि १४ जूनमा उनका फलोअर ४ करोड ८८ लाखभन्दा बढी थिए ।

अनन्या पाण्डे त फिल्म उद्योगमा आफूले संघर्ष गरेको भनेर दिएका बयानकै कारण ट्रोल भइरहन्छिन् । उनीमाथि पनि नेपोटिज्मको आडमा फिल्म र ठूला प्रोजेक्ट पाउने गरेको आरोप लाग्ने गरेको छ । १८ जूनमा अनन्याका इन्स्टाग्राम फलोअर १ करोड २२ लाख ६४ हजार बाँकी थिए । जबकि दुई दिन पहिले १६ जूनमा उनका फलोअर १ करोड २३ लाखभन्दा धेरै थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *