खरको छानो विस्थापित गर्दै स्थानीय तह

डिसी नेपाल
१० असार २०७७ १०:१८

प्यूठान । प्यूठान जिल्लाका स्थानीय तहहरुले खरको छाना विस्थापित गरी विपन्नका घरमा जस्तापाता लगाउने कार्यक्रम प्रभावकारी बनेको छ। लामो समयदेखि खरको छानामुनि बसेका जस्तापाताले छाउन नसकेका परिवारलाई स्थानीय तहमार्फत जस्तापाताले घर छाउने कार्यक्रम ल्याइएको हो।

गौमुखी गाउँपालिकाले गत आर्थिक वर्ष २०७५/७६ मा एक हजार ४२८ अतिविपन्न परिवारको घरमा जस्तापाताले छाउने कार्यक्रम सम्पन्न गरेको गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले बताए ।

रु पाँच करोड २८ लाख लागतमा जस्तापाता लगाइएको उनको भनाइ छ । गाउँपालिकाले प्रतिघर रु ४० हजार लगानीमा जस्तापाता लगाएको थियो । सो गाउँपालिकाले चालू आर्थिक वर्षमा पनि विभिन्न वडाका १२४ घरधुरीमा रु ५० लाख लागतमा जस्तापाता लगाएको छ ।

धेरै वर्षदेखि खरको छानामा बसेका गौमुखी–२ अर्खा ठूलाचौरका श्यामबहादुर थापाले जङ्गलको नजिक घर हुँदा खरको छानामा आगलागीको डर हुने गरेको बताए । उाका अनुसार गाउँपालिकाको सहयोगमा जस्तापाता लगाएपछि अहिले डर हटेको छ।

यस्तै स्वर्गद्वारी नगरपालिकाले पनि नगर क्षेत्रमा रहेका विपन्न परिवारका घरमा जस्तापाता लगाउँदै आएको छ । आगामी आर्थिक वर्षमै खरको छानो विस्थापित हुने गरी काम भइरहेको नगरपालिकाले जनाएको छ।

करिब दुई हजार २०० घरहरु खरको छानो भएको स्वर्गद्वारीमा करिब एक हजार ५०० घरधुरीमा जस्तापाता लगाइसकिएको नगरप्रमुख नेत्रबहादुर रोका क्षेत्रीले बताए ।

आगामी वर्ष पनि प्रदेश सरकारसँग समन्वय गरेर रु एक करोड ५० लाख बजेट विनियोजन गरी १ र २ नं वडामा रहेका खरका छाना भएका घरहरुलाई जस्तापाताले छाएर नगरपालिकालाई खरको छानामुक्त घोषणा गर्ने योजना रहेको उहाँले बताउनुभयो । माण्डवी गाउँपालिकाले पनि पालिका क्षेत्रभित्र ७५० घरमा जस्तापाता लगाएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *