कुम्भ घर भत्काइएपछि हलेसी नगरपालिका र विकास समितिबीच द्वन्द्व

डिसी नेपाल
१० असार २०७७ ११:४१

खोटाङ। स्थानीय तह अन्तर्गत पर्ने हलेसीमा रहेको धार्मिक तथा पर्यटकीय स्थल तथा बौद्ध धर्मालम्वीहरुले प्रयोग गर्ने कुम्भ घर भत्याइएपछि स्थानीयले आपत्ति जनाएका छ। स्थानीय तहसँग समन्वय नगरी प्रदेश नम्बर एकका पर्यटन सचिव सञ्जिव राई र हलेसी विकास समितिका पदाधिकारीको उपस्थितिमा बशाहगुफा पदमार्ग निर्माण योजनाको नाममा बौद्ध धर्मको कुम्भ घर भत्काइएपछि स्थानीयले आपत्ति जनाएका हुन्।

हलेसी तुवाचुङ नगरपालिकाको करिव २० लाख बजेटमा निर्माण गरिएको कुम्भ घर भत्काइएपछि स्थानीय आक्रोशित भएका छन्। नगरपालिकाले लाखौं रुपैयाँ खर्च गरेर बनाएको धार्मिक संचरना नगरपालिकालाई थाहा नै नदिइ भत्काइएको नगरपालिका प्रमुख इवन राईले बताए। ‘स्थानीय तहमा भएका धार्मिक ऐतिहासिक क्षेत्रको व्यवस्थापन गर्ने अधिकार नगरपालिकालाई छ, तर प्रदेश सरकारले स्थानीय तहलाई जानकारी नै नदिइ आफूखुशी भत्काउने काम भएको छ,’ नगरप्रमुख राईले डिसी नेपालसँग भने।

गत आर्थिक वर्षमा हलेसी तुवाचुङ नगरपालिकाले वौद्ध धर्मालम्वीका लागि वत्ति बाल्नलाई करिव १८ वटा कम्भ घर बनाएको थियो। बर्खामा पानी पर्ने र हिउँदमा हावाहुरी चल्दा वौद्धधर्मालम्वीलाई वत्ति बाल्न समस्या भएपछि नगरपालिकाले करिव २० लाख खर्च गरेर बनाएका कुम्भ घर एक नम्बर प्रदेशको पर्यटन मन्त्रालयका सचिव सञ्जिव राईको उपस्थितिमा महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले भत्काउन लगाएको नगरपालिकाका मेयर राईले दाबी गरे।

‘स्थानीय सरकार संचालन ऐन २०७४ मा स्थानीय स्तरमा भएका पुरातात्विक संरचना, मठ मन्दिर रेखदेख, व्यवस्थापन र संरक्षण गर्ने अधिकार स्थानीय तहलाई दिएको छ,’ मेयर राईले डिसी नेपालसँग भने, ‘ पद मार्ग फराकिलो पार्ने नाममा लाखौं बौद्धधर्मालम्वीको आस्थाको केन्द्र रहेको पवित्र धार्मिक स्थलमा रहेका कुम्भ घर नगरपालिकासँग समन्वन नगरी भत्काउने काम भयो। यो धर्म संस्कृति माथिको प्रहार हो।’

आर्थिक वर्षको अन्तिममा बजेट सकाउन महादेवस्थान विकास समितिले पदमार्ग निर्माणको नाममा नगरपालिकाले बनाएका संचरना भत्काइएको नगरपालिकाले आरोप लगाएको छ। नगरपालिकाले आफूसँग समन्वय नगरी हलेसी मन्दिर वरिपरीको क्षेत्रमा विकास समितिले जथाभावी संचरना बनाउने र भत्काउने काम गर्नु संघीयता विरोध भएको मेयर राईले बताए।

हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक समिरबहादुर भुजेलले पदमार्ग निर्माणका क्रममा बीच बाटोमा पर्ने कुम्भ घर छेउमा सार्नु पर्ने भएकाले क्षति नपुग्ने गरी सडकको छेउमा सार्न लागिएको बताए। ‘हामीले नगरपालिकासँगको समन्वयमा नै कुम्भ घरको व्यवस्थापन गर्दैछौं,’ भुजेलले डिसी नेपालसँग भने, ‘सिँढी निर्माणका क्रममा कुम्भ घरले असर गरेपछि क्षति कम हुने गरी सकडको छेउमा सार्न लागेका हौं।’ उनले प्रदेश सरकारको सचिवको रोहवरमा कुम्भ घर भत्काइएको सत्य नभएको दाबी गरे।

विकास समितिका कार्यकारी निर्देशक भुजेल नेकपा निकट हुन् भने नगरपालिका प्रमुख राई नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन्। नगरपालिका प्रमुखलाई असफल बनाउन भुजेलले सत्ताको आड र निर्देशमा भूमिका खेलेको आरोप लाग्ने गरेको छ।

संघीय सरकार मातहतमा हलेसी विकास समितिलाई राखिए पनि हालसम्म कुनै योजना परेका छैनन्र विकास समितिमा परेको रकम पनि वर्षको अन्तिममा उपभोक्ता समिति गठन गर्ने र गुरुयोजनाको मर्म विपरित विकास निर्माणको काम गरेको जस्तो गरेर भ्रष्टाचार गरेको स्थानीयले आरोप लगाएका छन्। वर्षौ अघि गठन भएको विकास समितिले अहिलेसम्म कुनै विकासको काम गर्न नसेको छैन। नगरपालिका गठन भएपछि नै मन्दिर वरिपरि व्यवस्थित, भेटीघाटी पारदर्शिता, सीसी क्यामरा जोड्ने र फूलमाला पसल व्यवस्थित गर्ने काम भएको छ।

हलेसी गुरुयोजना सफल वनाउन संघीय सांसद, प्रदेश सांसद, पूर्व सांसदहरु, हलेसी तुवाचुङ नगरपालिका, हलेसी महादेवस्थान विकास समितिका पदाधिकारी र विज्ञ समूह गठन गरि गुरुयोजना निर्माण गरिएको थियो। उक्त गुरुयोजनाले तीन वटै धर्मका आस्थाहरुलाई समान सम्मान गर्ने व्यवस्था गरेको थियो। मन्दिर वरिपरिको अवस्थामा हलेसी गुफा वरिपरि ३ धर्मको समान रुपले कल्पना गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *