काठमाडौं महानगरपालिकाले ल्यायो १६ अर्ब ४२ करोडको बजेट

डिसी नेपाल
१० असार २०७७ १९:३१

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार रुपैयाँको बराबरको बजेट सार्वजनिक गरेको छ । यसमध्ये ४९ प्रतिशत चालु र ५१ प्रतिशत पुँजीगत खर्चका लागि छुट्याइएको छ।

कोभिड १९ को संक्रमणबाट प्रभावित उद्योग व्यापारलाई करसहुलियत कार्यक्रम समेत बजेटमार्फत अघि सारेको छ । करदाताहरुबाट असुल हुन बांकी रहेको आर्थिक बर्ष २०७६÷०७७ को सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा पुरै छुट दिएको छ।

महानगरले सम्वृद्धिका लागि सहकारी अभियान, एकीकृत शिप बिकास कार्यक्रम, मेड इन काठमाडौँ, जीवन निर्वाहका लागी पारिश्रमिक कार्यक्रम, हप अन हप अफ बस संचालन, प्रबिधीमैत्री सिटि लाइब्रेरी, महानगर महिला सहजिकरण केन्द्र स्थापना तथा संचालन, युवासंग मेयर कार्यक्रम र वडा–वडामा मेलमिलाप शिविर जस्ता कार्यक्रम अघि सारेको छ।

बुधबार महानगरपालिकाकी उप्रपमुख हरिप्रभा खड्की श्रेष्ठले बुधबार नगरसभा तथा अधिवेशनमा बजेट प्रस्तुत गरिन्। जसमा चालु खर्चको लागि मात्र १ अर्ब ७८ करोड २७ लाख ५० हजार रुपैयाँ र १७ करोड २३ लाख रुपैयाँ आर्थिक विकास क्षेत्रका लागि छुट्याएको छ ।

त्यस्तै पुँजीगत अर्थात् पुर्वाधार विकास क्षेत्रको लागि भने कुल बजेटको ५१ प्रतिशत अर्थात् ८ अर्ब ४३ करोड ४३ लाख ७१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ। सामाजिक विकासका लागि २ अर्ब ४९ करोड ९८ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि ९६ करोड ३० लाख रुपैयाँ छुट्याइएको छ । शसर्त अनुदान तर्फ २ अर्ब ५७ करोड ५१ लाख विनियोजन गरेको छ ।

महानगरपालिकाले ६ अर्ब ७६ करोड ६५ लाख रुपैयाँ आन्तरिक स्रोतबाट र निशर्त अनुदानबाट १ अर्ब ४२ करोड ४८ लाख ९५ हजार रुपैयाँ, शसर्त अनुदान बाट २ अर्ब ५७ करोड ५१ लाख ५ हजार रुपैयाँ, सामाजिक सुरक्षा भत्ता बापत १ अर्ब २० करोड रुपैयाँ, जग्गा एकीकरण बाट ९६ करोड ८ लाख २६ हजार रुपैयाँ गरी कुल ६ अर्ब १६ करोड ८ लाख २६ हजार रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ । यसबाट अपुग ३ अर्ब ५० करोड रुपैयाँ बैंक मौज्दातबाट व्यहोर्ने महानगरपालिकाले प्रस्तुत गरेको बजेटमा उल्लेख गरिएको छ ।

महानगरपालिकाको आन्तरिक स्रोतमा बहाल करबाट १ अर्ब ५० करोड, सम्पत्ति करबाट ८० करोड, व्यवसाय करबाट ४० करोड, विज्ञापन करबाट ६ करोड, शुल्क आयबाट १ अर्ब ५० करोड आम्दानी गर्ने लक्ष्य राखेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *