पन्ध्र वर्षदेखि फरार वन्यजन्तु अपराधका अभियुक्त पक्राउ

डिसी नेपाल
११ असार २०७७ २१:१६

काठमाडौं । विगत १५ वर्षदेखि फरार हुँदै आएका वन्यजन्तु अपराध मुद्दाका फरार अभियुक्तलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले विहीबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हुम्लाको नाम्खा गाउँपालिका घर भई हाल काठमाडौँको बौद्ध बस्ने ५० वर्षीय कुन्जोक छिरिङ तामाङ रहेका छन् । उनलाई आज ब्यूरोबाट खटिएको टोलीले काठमाडौँ–६ सिमलटारबाट पक्राउ गरेको हो । रसुवाको घटना भएकाले उनलाई आवश्यक कारवाहीका लागि आजै लामटाङ राष्ट्रिय निकुञ्ज कार्यालय धुञ्चे पठाइएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।

उनको समूहमा रहेका पाँच जनाको गिरोहलाई विसं २०६२ साल भदौ १६ गते रसुवाको तत्कालीन स्याफ्रु गाविस–९ मा पाटेबाघको छाला पाँच थान, चितुवाको छाला ३६ थान, ओतको छाला २३८ थान र ११३ किलो बाघको हड्डीसहित पक्राउ गरिएको थियो । अन्य व्यक्तिहरु दोषी ठहर भई कैद भुक्तान गरिसक्दासमेत मुख्य अभियुक्त तामाङ भने फरार हुँदै आएका थिए ।

वन्यजन्तुसम्बन्धी अपराधमा संलग्न रहेकाले उनी इन्टरपोलको समेत सर्वाधिक खोजी सूचीमा थिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार उनलाई कारवाही हुनेछ । ऐनको दफा २६ (१) मा दोषी ठहर भए पाँच लाख देखि दश लाखसम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजायको हुने व्यवस्था छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *