रुकुम काण्डबारे दलित गैरसरकारी संस्था महासंघको प्रतिवेदनमा के छ?

डिसी नेपाल
१२ असार २०७७ १७:१२

काठमाडौं। दलित गैरसरकारी संस्था महासंघले जाजरकोट र रुकुम पश्चिमको सोतिगाउँ घटना र रुपन्देही देवदह अंगिरा पासीको बलात्कारपछि हत्या प्रकरणको संक्षिप्त स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । टोलीले जेठ २६ गतदेखि जेठ ३२ गतेसम्म स्थलगत अध्ययन गरेको थियो ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदमा नेपालको इतिहासमा नै जातीय विभेद तथा छुवाछुतको कारण यति ठूलो नरसंहार भएको यो पहिलो घटना भएको जनाइएको छ । अध्ययन टोलीले सार्वजनिक गरेको स्थलगत अध्ययन प्रतिवेदनको निश्कर्षमा लेखिएको छ, ‘स्थानीय जनप्रतिनिधि वडा नं.८ का वडा अध्यक्ष डम्बरबहादुर मल्लको नेतृत्वमा उक्त सोती गाउँका मल्ल, ठकुरी, चन्द, पुनमगर र घर्तिमगर मिलेर घरेलु हतियार, लाठि, ढुंगा र लात मुक्का प्रयोग गरेर हत्या गरि नजिकैको भेरी नदिमा फालेको प्रस्ट देखिन्छ । विभिन्न सूचना, अन्तरक्रिया, घाईतेहरुको भनाई र स्थानीय शव उद्धार गर्ने पौडीबाजहरुबाट प्रष्ट भएको छ ।’

गत जेठ १० गते जाजरकोट जिल्ला, भेरी नगरपालिका वडा नं–४ रानागाउँका नवराज बि.क. र रुकुमपश्चिम, चौरजहारी नगरपालिका वडा –८, सुष्मा मल्लको बीच भएको प्रेम–सम्बन्धलाई विवाहमा परिणत गर्न जाँदा ६ जनाको विभत्स तरिकाले हत्या गरिएको ‘यो घटना जातीय विभेद तथा छुवाछुतको जरियाबाट शुरु भई जातीय नरसंहार नै भएको’ स्थलगत अध्ययन टोलीको ठहर छ ।

कार्यक्रममा महासंघको महासचिव तथ अध्ययन टोलीका संयोजक जेबी विश्वकर्माले जातीय विभेदकै कारण सोती घट्ना भएको बताए । उनले यो घट्नाका दोषीलाई सर्वश्व जन्मकैदको सजाय हुनुपर्ने माग गरे । साथै, पीडित परिवारलाई न्याय दिन सरकारसमक्ष माग गरे ।

यो प्रकरणमा जिल्ला अदालत रुकुमले २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *