प्रजातान्त्रिक योद्धा सर्वधन राईको स्मृतिमा प्रतिष्ठान गठन

डिसी नेपाल
१४ असार २०७७ ७:२२

खोटाङ । प्रजातान्त्रिक योद्धा स्वर्गीय सर्वधन राईको स्मृतिमा प्रतिष्ठान गठन गरिएको छ।

जहानीय राणा शासन र निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध सङ्घर्ष गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका राईको स्मृतिमा सर्वधन राई स्मृति प्रतिष्ठान गठन गरिएको हो।

प्रदेशसभा सदस्य उषाकला राईको अध्यक्षतामा ११ सदस्यीय ‘सर्वधन राई स्मृति प्रतिष्ठान’ गठन गरिएको जनाइएको छ।

देश र प्रजातन्त्रका लागि निरन्तर सङ्घर्ष गरेर जीवन समर्पण गर्नुभएका राईको योगदानलाई इतिहासलाई ताजा राख्ने उद्देश्यले प्रतिष्ठान गठन गरिएको अध्यक्ष एवं प्रदेशसभा सदस्य राईले बताए ।

प्रतिष्ठानको उपाध्यक्षमा केशव राई, सचिवमा जमानसेर राई र कोषाध्यक्षमा रामप्रसाद दङ्गाल रहेका छन् ।

सदस्यमा पूर्वकानून मन्त्री तथा प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङ, संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, पूर्वजिविस सभापति विष्णुकुमार राईलगायत रहेका छन् ।

नेपालको प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनको विभिन्न योद्धाहरुको बारेमा अध्ययन–अनुसन्धान गर्ने एवं पूर्वी नेपालकै बृहत सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्ने लगायतका प्रतिष्ठानको उद्देश्य प्राप्तिका लागि प्रतिष्ठानकै उपाध्यक्ष राईले आफ्नो अंशको ११ रोपनी ७ आनाभन्दा बढी जग्गा प्रतिष्ठानलाई दान गरेका छन् ।

प्रतिष्ठानलाई असार ८ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गरिएको छ।

विसं १९७२ भदौ ५ गते जन्मनुभएका राईले विसं २००७ सालको प्रजातान्त्रिक आन्दोलनका क्रममा जहानीय राणा शासन अन्त्यका लागि जनमुक्ति सेनाको कमाण्डर भई पूर्वको किल्ला जित्दै चरिकोटसम्म कब्जा गरी राणा शासन अन्त्य गर्नमा महत्वपूर्ण योगदान गरेका थिए ।

यस्तै विसं २०१७ पुस १ गते राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्त गरेर निरङ्कुस पञ्चायती व्यवस्था लादेपछि राजाको सो कदम विरुद्ध राईकै नेतृत्वमा विसं २०१८ कात्तिकमा पहिलो पटक सशस्त्र बिद्रोह गरी दिक्तेल कब्जा गर्दै ऐसेलुखर्क कब्जा गर्ने प्रयास गरिएको थियो।

सशस्त्र विद्रोह असफल भएपछि र तत्कालीन शासकले टाउकोको मूल्य तोकेपछि सर्वधनले भारतमा ८ वर्ष निर्वासन जीवन बिताएका थिए ।

सर्वधनले खाल्लेमा ५५ झ्याले घर बनाउनुभएको र तत्कालीन शासकले केही झ्याल भत्काउन लगाएको थियो। यस्तै, खोटाङ बजारमा रहेको सदरमुकामलाई उनकै नेतृत्वमा विसं २०२० मा दिक्तेलमा सारिएको थियो।

प्रजातान्त्रिक योद्धा राईको स्मृतिमा बृहत सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्न प्रदेश सरकारबाट रु ३० लाख बजेट विनियोजन भएको छ।

प्रतिष्ठानकी अध्यक्ष एवं प्रदेशसभा सदस्य राई सर्वधनका नातिनी र पूर्वकानूनमन्त्री तथा प्रतिनिधिसभा सदस्य तामाङ नातिनी ज्वाइँ हुन् । प्रतिष्ठानका उपाध्यक्ष केशव सर्वधनका कान्छा छोरा हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *