प्रदेश सञ्चित कोष विधेयक पारित

डिसी नेपाल
१५ असार २०७७ १७:२२

बुटवल । प्रदेश नं ५ को प्रदेशसभामा सोमबार आर्थिक वर्ष २०७७। ०७८ को सेवा र कार्यका लागि प्रदेश नं ५, प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित भएको छ । सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभामा विधेयक निर्णयार्थ प्रस्तुत गरेपछि बहुमतले पारित भएको घोषणा गरे।

यसअघि मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री शङ्कर पोखरेलले सोसम्बन्धी विधियेक पारित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेश गर्दै सञ्चित कोषबाट केही रकम खर्च गर्ने प्रबन्ध अस्थायी भएको र प्रदेशसभाबाट अधिकार प्राप्त मात्र गर्न खोजेकाले यस्तो विषयमा विमति जनाउने प्रचलन राम्रो नभएको बताए। सो विधेयकमा विपक्षी दल नेपाली कांग्रेसले विमति जनाएको थियो ।

प्रदेश नं ५को प्रदेशसभामा कार्यव्यवस्था परामर्श व्यवस्था महाशाखाको तालिकामा केही फेरबदल भएपछि प्रदेशसभामा विपक्षी दलका सदस्य अनुपस्थित हुँदा प्रदेशसभा एक घण्टा स्थगन भएको थियो । प्रदेशसभाका सचिव दुर्लभ पुनले मुख्यमन्त्री पोखरेलको समयाभावका कारण तालिकामा फेरबदल भएको र विपक्षी दल सहमत भएपछि प्रदेशसभा सञ्चालन भएको बताए। विनियोजन विधेयकमाथिको छलफल तालिका असार १६ गतेसम्म रहेकामा परिवर्तन गरेर विनियोजन विधेयकमाथिको छलफल आजै सकिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *