मेक्सिकोद्धारा अमेरिकासँगको सीमा कडा गर्न माग

डिसी नेपाल
२० असार २०७७ १९:१४

मेक्सिको सिटी । मेक्सिकोका अधिकारीहरुले अमेरिकातर्फको सिमाना बढी कडा गर्न अमेरिकासँग माग गरेका छन् । पहिले पहिले अमेरिकाले मेक्सिकोसँगको सीमा क्षेत्रलाई कडा पार्ने र त्यसका लागि पर्खाल नै लगाउने भनेर अमेरिकाले प्रस्ताव गर्ने गरेको थियो ।

तर अहिले भने मेक्सिकन अधिकारीहरुले अमेरिकासँग जोडिएको आफ्नो देशको सीमा क्षेत्रलाई कडा पार्न माग गरेका छन् । अमेरिकामा कोरोना भाइरसका संक्रमितहरुको संख्या दिन प्रतिदिन बढ्दै गएका छन् । त्यसैले आफ्नो देशलाई यसबाट सुरक्षित राख्नका लागि मेक्सिकोले पनि सीमा क्षेत्रमा कडाई गर्न माग गरेको हो ।

अमेरिकाको टेक्सास राज्यमा कोभिड १९ को संक्रमण निकै बढिरहेको छ र यसका कारण मेक्सिकोको उत्तरी क्षेत्रमा असर पर्ने देखिएको मेक्सिको अधिकारीले जनाएका छन् । मेक्सिकोको तमाउलीपास राज्यका गभर्नरले अमेरिकासँगको सीमा क्षेत्रलाई बढी कडाई गर्न माग गरेका हुन्।

उक्त राज्यका गभर्नर जेभियर ग्रेसिया क्याभेजाले मेक्सिकोको सरकारलाई टेक्सास सँगको सिमानामा कडाई गर्ने नीति बनाउन आग्रह गरेका हुन् । गभर्नर क्याभेजालाई पनि कोरोना भाइरसको पोजेटिभ भएको छ । उनिसहित टेक्सासको सीमाक्षेत्रमा पर्ने अर्को एक राज्यका गभर्नरलाई पनि पोजेटिभ भएको छ ।

अहिलेसम्म विश्वभर एक करोड ११ लाखभन्दा बढी व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ भने पाँच लाख २९ हजारभन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी सक्रमित अमेरिकी क्षेत्रमा रहेको र त्यसमा पनि संयुक्त राज्य अमेरिकामा कोभिड–१९ संक्रमण र यसका कारण मृत्यु हुनेको सङ्ख्या विश्वका अन्य कुनै एक मुलुकभन्दा बढी रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *