अमेरिकी राष्ट्रपति चुनावः जो बिडेनको लोकप्रियता बढ्दै, ट्रम्पको सम्भावना केवल १० प्रतिशत

डिसी नेपाल
२१ असार २०७७ १०:२२

काठमाडौं। आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बिडेनको पल्ला भारी देखिएको छ । कोभिड–१९ को प्रकोप सुरु हुनुभन्दा पहिले अर्थव्यवस्थाको तीब्र गतिका कारण हालका राष्ट्रपति डोनाल्ड ट्रम्पले जित्ने सम्भावना अत्याधिक देखिएको थियो । तर, कोभिड–१९ महामारीले ट्रम्पको लोकप्रियता ह्वात्तै घटाइदिएको छ । द इकोनोमिस्टको चुनाव मोडलले अहिले ट्रम्पको चुनाव जित्ने सम्भावना केवल १० प्रतिशत भएको देखाएको छ ।

फ्लोरिडा, मिशिगन र भिस्कन्सिनजस्ता कडा प्रतिस्पर्धा हुने राज्यहरुमा जो बिडेनको स्थिति सुदृढ छ । पाका मतदाताहरुको बीचमा पनि उनले धेरै समर्थन पाइरहेका छन् । आश्चर्यको कुरा कलेज नजाने श्वेत मतदाता पनि उनीसँग जोडिएका छन् । कोरोनाभाइरसले धेरै मतदाताहरुलाई यो महसुस गराएको छ कि ७४ वर्षका ट्रम्प राष्ट्रपति पदका लागि योग्य छैनन् ।

नोभेम्बर आउन अझै ४ महिना बाँकी छ । यो अवधिमा कोरोनाभाइरस नियन्त्रण हुँदै गयो र अर्थव्यवस्था सुधार हुँदै गयो भने ट्रम्पको स्थिति बलियो हुँदै जान सक्छ । तर, यदि भाइरसको भीषण प्रकोप जारी रह्यो र हुलाकबाट मतदानको लागि पर्याप्त व्यवस्था गरिएन भने कम भोटिङका कारण नतिजा अप्रत्याशित हुन सक्छ । यद्यपि स्थिति जस्तोसुकै भए पनि ट्रम्पले यसअघिजस्तै विभाजनकारी तरिकाको फाइदा उठाउने कोसिस गर्नेछन् ।

जो बिडेन ७७ वर्षका छन् तर ट्रम्पको भन्दा धेरै उमेर भएकै कारण यो मुद्दा उनको विरुद्ध जाने छैन । उनी उपराष्ट्रपति रहिसकेका छन् । उनी १९७२ मा ३० वर्षभन्दा कम उमेरमा सिनेटर बनेका थिए । सर्वेक्षणमा डेमोक्रेटिक प्रभावका राज्यहरु मिशिगन, पेन्सिल्भेनिया, भिस्कन्सिनमा बिडेर धेरै अगाडि छन् । एरिजोना, जर्जिया र टेक्ससजस्ता रिपब्लिकन प्रभाव भएका राज्यहरुमा पनि उनी कडा प्रतिस्पर्धामा छन् । अनुभव विनम्रता र मध्यमार्गी झुकाव बिडेनको स्थितिलाई बलियो बनाउँछन् । मानिसहरुलाई यो पनि लाग्छ कि बिडेन अमेरिकाको पुरानो स्थिति बहाल गर्न सक्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *