कोरोना कहर : काठमाडौंमा खाली कोठा र सटर प्रशस्तै

डिसी नेपाल
२३ असार २०७७ १०:३७

काठमाडौं। कोरोनाको भाइरसको उच्च जोखिमबाट बच्नको लागि लागू गरिएको लकडाउनको समयमा काठमाडौंमा सटर,कोठा खाली हुन थालेका छन्। लामो समयसम्म जारी लकडाउनको कारण आम्दानी ठप्प भएकाले सर्वसाधारण सटर, कोठा छोड्न बाध्य भएका हुन्।

काठमाडौंमा कोरोना संक्रमण देखिएपछि सरकारले गत चैत ११ गते लकडाउन घोषणा गरेको थियो। लकडाउन गरिएपछि अधिकांश सर्वसाधारण गाउँ फर्किएका थिए। अहिले लकडाउन केही खुकुलो भएपछि काठमाडौं भित्रिएका उनीहरुले व्यापार नभएपछि सामान लिएर गाउँ फर्किन थालेको बताएका छन्। कलंकी बस्दै आएका एक युवाले आफ्नो सामानसहित घर फर्कने तयारी गरेको बताए।

उनले भने, ‘यहाँ कसरी बस्नु काम गरेपनि कम्पनीले पूरा तलब नदिने भयो। गाउँ जाँउ भाडा कसरी तिर्ने त्यसैले मैले सामानसहित घर जाने तयारी गरेको हो।’

‘कोरोनाको महामारी अगाडि घर भाडा महंगो तिरे पनि भनेजस्तो कोठा पाउन गाह्रो थियो। अहिले काठमाडौमा सटर,कोठा खाली भएपछि कतिपयले आफूले भनेजस्तो कोठा, सटरमा सर्न थालेका छन्,’ कलंकी बस्ने राजु बलामीले भने, ‘अहिले यो माथि भेग तिर पुरै कोठा र सटर खाली छन्। मलाइ यो कोठा चित्त बुझेको थिएन त्यसैले सर्न लागेको हो।’

काठमाडौंमा कोठा, सटर खाली भएसँगै घरबेटीले कोठा सस्तोमा दिन थालेका छन्। मलामी भन्छन्, ‘अहिले सर्न लगेको कोठा यो भन्दा राम्रो छ तर भाडा यहाँ भन्दा सस्तो छ।’ व्यापार व्यवसाय ठप्प भएसँगै काठमाडौंका मुख्य स्थानमा सटर खाली हुन लागेको व्यापारी बताउँछन्।

न्युरोडमा कपडा व्यापार गर्दै गरेकी एक महिला भन्छिन्, ‘फाट्टफुट्ट सटर खाली हुन थालेको छ। व्यापार छैन महंगो भाडा छ कसरी तिर्ने भन्ने चिन्ता छ। त्यसैले सटर नै खाली गरेका हुन।’ कलंकीमा कस्मेटिक पसल चलाउने महिलाको पनि तयारी त्यस्तै छ। उनी भन्छिन्, ‘अब मैले पनि सटर खाली गर्ने तयारी गरेको छु। व्यापार छैन त कसरी सामन राखिरहने, घरवालाले अलिकति पनि छुट गर्ने होइन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *