डब्लूएचओमा जागरि लगाइदिने भन्दै लाखौ ठगी गर्ने ‘सिरियल ठग’ पक्राउ

डिसी नेपाल
२४ असार २०७७ २०:३६

काठमाडौं । एक नटरवालले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) मा जागिर लगाइदिने लोभ देखाएर लाखौँ ठगी गरेको रहस्य खुलेको छ । नक्कली कागजात तयार गरी आफू विश्व बैकको कर्मचारी, इन्सुरेन्स कम्पनीको कर्मचारी भएको बताउँदै विभिन्न व्यक्तिहरुलाई ठगी गर्ने विजय पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ।

नवलपुरको देउचुलीस्थित प्रगतिनगरका पाण्डेले आफू विश्व स्वास्थ्य सङ्गठनको कर्मचारी हुँ भन्दै जागिर लगाइदिने बहानामा रकम ठगेको आरोपमा महानगरीय अपराध महाशाखाले उनलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।

डब्लूएचओमा जागिर खुलेको भन्दै पाण्डेले चितवन भरतपुरकी अस्मिता अधिकारी, काठमाडौंका फर्निचर व्यवशायी धनबहादुर विष्ट, चितवनका निशान लगायतका आधा दर्जन व्यक्तिहरुबाट लाखौं ठगी गरेका छन् ।

अस्मिता अधिकारीलाई अफर लेटर, रिलाइबल नेपाल लाइफ इन्सुरेन्स कम्पनीका कागजातसमेत बनाई विश्वासमा पारी गत वैशाखमा आईएमईमार्फत रु एक लाख ८२ हजार लिएर फरार भएको महाशाखाका प्रमख एसएसपी दीपक थापाले बताए । एसएसपीका अनुसार यस्ता धेरैजनालाई ठगी गरेको उजुरी आएपछि उनको खोजी गर्दे जाँदा सिरियल ठगको रुपमा फेला परेको बताए ।

उनलाई मङ्गलबार काठमाडौँको बानेश्वरबाट पक्राउ गरी ठगी कसूरमा अनुसन्धान तथा कारवाहीका लागि बुधबार महानगरीय प्रहरी परिसर, टेकुमा बुझाइएको महाशाखाका एसएसपी थापाले जानकारी दिए ।

प्रहरी अनुसन्धानका क्रममा उनले काठमाडौँका फर्निचर व्यवसायी धनबहादुर विष्टबाट रु १८ लाखको फर्निचर किन्छु भनी रु ५० हजार ठगी गरेको, चितवन भरतपुरका निशानबाबु घिमिरेलाई विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयमा जागिर लगाइदिने भनी रु तीन लाख ५० हजार , अछामकी रञ्जु बुढालाई एक वर्षसम्म नक्कली कार्यालयमा काम लगाइ तलब नदिई ठगी गरेको र नवलपरासी बस्ने दीपक खनाल, धनबहादुर क्षेत्री, मनाङका कासी गुरुङ तथा ठेगाना नखुलेका सरिता भण्डारी, रमा घिमिरेसमेतलाई जागिर लगाउने लोभ देखाएर ठगी गरेका थिए ।

ठगी भएको भन्दै उजुरी आउने क्रम जारी रहेको महशाखाले जनाएको छ । ‘धेरै व्यक्तिलाई विभिन्न बहानामा ठगी गरेका रहेछ उजुरी आउनेक्रम जारी छ’, महाशाखाका एसपी इश्वर कार्कीले भने । उनका अनुसार उजुरीको आधारमा प्रहरीले अनुसन्धान गर्दै जानेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *