प्रधानमन्त्रीको पक्षका प्रदर्शनकारी भन्छन्, ‘हामीलाई स्थिर सरकार चाहिन्छ’

तर्कबहादुर थापा
२४ असार २०७७ २३:२७

काठमाडौं । अर्का अध्यक्ष प्रचण्डासँग सत्ता र शक्ति बाँडफाँडको बुधबार साँझ भएको वार्तामा पनि प्रगति हुन नसकेपछि नेकपा भित्रको झगडा थप चर्कने संकेत मिलेको छ। अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) देशभरका सडकमा प्रधानमन्त्रीका पक्षमा लाग्न थालेका नारा जुलुस प्रति चिन्तित छन्। सुरुमा ज्यादै थोरै मान्छेको जुलुस आएको भन्दै प्रचण्ड र माधव नेपाल समूहका नेताहरुले टिप्पणी गरेपछि अहिले ओली पक्षधरहरुको सडक जुलुसको संख्या बढ्दो क्रममा छ।

बुधबार साँझ काठमाडौंको चावहिल, गंगबु बसपार्क, ललितपुरको लगनखेल लगायतका स्थानहरुमा प्रदर्शन गरिएको थियो। स्थायी सरकार चाहिन्छ। कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र हाम्रो हो जस्ता नाराहरु लगाइएका थिए।

काठमाडौं महानगरपालिका ७ को चावहिलचोकमा महिलाहरुले पनि हातमा नेपालको झण्डासहित प्रधानमन्त्री ओलीको पक्षमा नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए। प्रधानमन्त्रीेको राष्ट्रवाद देखेर डराएकाहरुले अस्थिरता ल्याउन खोजेको उनीहरुको आरोप छ।

नेकपा सम्बद्ध विद्यार्थी नेताहरु भने प्रधानमन्त्रीको पक्षमा सडकमा आउनुलाई स्वभाविक ठान्छन। ‘जनताको आवाज हो पार्टीले पठाएको पनि हैन उनीहरु आफ्नो स्वविवेकले सडकमा आएका हुन्।’ अनेरास्ववियूकी केन्द्रीय सदस्य कल्पना थापाले भनिन्, ‘अवश्य पनि सरकारले राम्रो काम गरेकै कारण आज सर्वसाधारणहरु सडकमा आएका छन्। प्रधानमन्त्री ज्यूले राम्रो काम गर्नु भएको छ। र त सर्वसाधारणहरु स्वस्फुर्त सडकमा आएका छन्।’

सडकमा आएका सर्वसाधारण र प्रचण्ड पक्षधरकाबीच झडप समेत भएका घटनाहरु सार्वजनिक भएका छन्। केन्द्रीय सदस्य थापा भने अराजकता र अस्थिरता चाहानेहरुले यस्तो गरेको बताउछिन्। ‘यस्तो काम त अस्थिरता चाहाने र अराजक मानसिकता भएकाले गरेका होलान्।’ उनले भनिन्, ‘उनीहरु जो सुकै आस्था विचार र पार्टीका भए पनि देशमा स्थिरता भएको देख्न नसक्नेहरु हुन्। यस्तालाई सबैले चिन्न जरुरी छ।’

पछिल्लो समय काठमाडौं लगायत देशका विभिन्न शहरहरुमा प्रधानमन्त्रीका पक्षमा नाराजुलुस हुन थालेका छन्।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रबाट नै प्रधानमन्त्रीको राजीनामाको माग उठिरहेका बेला सर्वसाधारण ५ वर्ष स्थायी सरकारको पक्षमा देखिएका हुन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *