‘भारतीय बीएसएफ जवानले ६ महिनामा कम्तीमा २५ बंगलादेशी सर्वसाधारणको हत्या गरे’

डिसी नेपाल
२५ असार २०७७ ११:४२

काठमाडौं। भारतको बोर्डर सेक्युरिटी फोर्स (बीएसएफ)ले यस वर्षको पहिलो ६ महिनामा कम्तीमा २५ जना बंगलादेशी सर्वसाधारणको हत्या गरेको एक मानवअधिकारवाही संस्थाले जनाएको छ । बंगलादेशमा आधारित मानवअधिकार संस्था ‘ओधिकार’ले सोमबार एक रिपोर्ट जारी गरेको छ जसमा बीएसएफले अन्य ३ जना बंगलादेशीको अपहरण गरेको र १७ जना अन्य बंगलादेशीलाई घाइते बनाएको उल्लेख छ ।

‘४५ बंगलादेशीहरु २०२० को जनवरीदेखि जूनसम्म छिमेकी देशको सीमा सुरक्षाकर्मीबाट पीडित भएका छन्’ रिपोर्टमा उल्लेख छ । हालै बहुचर्चित किशोर विद्यार्थीको हत्याबारे उल्लेख गर्दै रिपोर्टमा भनिएको छ ‘यो अवधिमा एक बीएसएफ जवान बंगलादेश प्रवेश गरेर कृषि कार्यमा संलग्न एक माध्यमिक तहका विद्यार्थीलाई गोली हानेर मारेका छन् ।’ १६ वर्षका शिमोन रोयलाई १९ अप्रिलमा सीमावर्ती जिल्ला ठाकुरगांवमा मारिएको थियो ।

अल जजीराका अनुसार सीमामा भएका हत्यालाई धेरै दुर्भाग्यपूर्ण र अस्वीकार्य भन्दै बंगलादेशको बोर्डर गार्ड बंगलादेशका लेफ्टिनेन्ट कर्णेल फायेजुर रहमानले भने ‘हाम्रा फिल्डका अधिकारी र हेडक्वाटरका उच्च अधिकारीले पटक पटक यसको विरोधमा पत्र पठाएका छौं ।’ उनले सीमामा हत्याको क्रम जारी रहेको भन्दै अब यस्तो हुँदैन भन्ने सुनिश्चित गर्न नसकिएकोमा दुःख व्यक्त गरे । यी दुई देशबीचको ४ हजार ९६ किलोमिटर क्षेत्रमा यस्ता घटना भइरहन्छन् किनकि भारतको बीएसएफले बंगलादेशबाट अवैध रुपमा भारत प्रवेश गर्ने र पशुहरुको तस्करी गर्नेहरुलाई रोक्न ‘शूट एट साइट’ नीति लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *