अब पुस्तकको आईएसबीएन नम्बर अनलाइनमार्फत

डिसी नेपाल
२५ असार २०७७ २२:२८

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयले अबदेखि अनलाइनमार्फत पुस्तकको ‘अन्तर्राष्ट्रिय मानक पहिचान चिह्न’ (आईएसबीएन) सेवा प्रदान गर्ने व्यवस्था गरेको छ ।

बिहीबार आयोजित कार्यक्रममा त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले अर्विन्दकुमार केशरीले लेख्नुभएको ‘Text book of Higher secondary BiologyText book of Higher secondary Biology’ पुस्तकलाई ९७८–९९३७–९९९८–१६आईएसबीएन अनलाइनबाट प्रदान गरी सेवाको शुभारम्भ गरेका हुन्। यसअघि पुस्तकको आईएसबीएन नम्बर लिनका लागि केन्द्रीय पुस्तकालय आउनुपर्दथ्यो।

सो अवसरमा उनले बन्दाबन्दी (लकडाउन)को अवसर पारेर पुस्तकालयले आईएसबीएन सेवा अनलाइनमार्फत उपलब्ध गराएर प्रविधिलाई आत्मसात् गरेको बताए।

शिक्षाध्यक्ष प्राडा भुसालले विश्वविद्यालयले विपद्लाई अवसरको रुपमा प्रयोग गर्दै प्रविधिमैत्री अध्ययन अध्यापन कार्य सञ्चालन गर्ने योजना बनाइरहेकोसमेत बताए।

त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका निर्देशक प्रा डा भुपप्रसाद धमला, केन्द्रीय पुस्तकालयका पूर्वप्रमुख जनार्दन ढुङ्गाना र इन्द्रप्रसाद अधिकारी, नेपाल पुस्तक प्रकाशन संघका अध्यक्ष लिखत पाण्डेले अनलाइन सेवा सञ्चालन गरेपछि सेवाग्राहीलाई सजिलो हुने बताए।

केन्द्रीय पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठले पुस्तकालयले प्रदान गर्ने सेवालाई प्रविधिमैत्री बनाउँदै लैजाने बताए। उनले पुस्तकालयले छिटै सफ्टवेयर खरिद गरी पाठकले आफ्नो इमेलबाट जुनसुकै ठाउँबाट जुनसुकै बेला प्रयोग गर्न मिल्ने गरी रिमोटबाट पनि पढ्न सक्ने सेवा प्रदान गर्ने योजना रहेको बताए।

सन् २००० जनवरी २६ देखि नेपालबाट प्रकाशन भएका पुस्तकलाई अन्तर्राष्ट्रिय मानक पहिचान चिह्न प्रदान गर्ने राष्ट्रिय एजेन्सीको रुपमा केन्द्रीय पुस्तकालयले काम गर्दै आइरहेको छ । २० वर्षको अवधिमा ५५ हजार पुस्तकलाई आईएसबीएन नम्बर प्रदान गरेको पुस्तकालयका प्रमुख श्रेष्ठले जानकारी दिए।

चवालिस हजार ३६९ पुस्तकको कम्प्युटरमा डाटा इन्ट्री भई वेबसाइटमा हेर्न सकिने भएको छ भने बाँकी पुस्तकहरु पनि कम्प्युटरमा इन्ट्री गर्ने काम भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *