धनुषा र सर्लाही हुँदै फेरि सलह नेपाल आउन सक्ने प्रक्षेपण

डिसी नेपाल
२७ असार २०७७ १८:०२

काठमाडौं। विनाषक किरा सलह फेरि नेपाल आउन सक्ने प्रक्षेपण गरिएको छ। कृषि विकास तथा पशुपंक्षी मन्त्रालय अन्तरगतको प्लान्ट क्वारेन्टिन एण्ड पेस्टिसाइड म्यानेजम्यानेन्ट सेन्टरले धनुषा, सर्लाही र सर्लाहीबाट सलह नेपाल आउने सक्ने सम्भावना रहेको जनाएको छ।

सेन्टरले शनिबार भारतको उत्तर प्रदेशको कानपुर र इटावाको बिचमा पर्ने औरैया आसपासका क्षेत्रमा रहेका २ वटा सलहका झुण्डहरु करिब १५० हेक्टर क्षेत्रफलमा फैलिएको जनाएको छ। यी झुण्डहरु हावाको बहावसँगै पूर्वतर्फ वाराणसी हुँदै मुजफ्फरपुर र दरभंगाको आसपासका क्षेत्र हुँदै धनुषा, महोत्तरी, सर्लाही क्षेत्रबाट नेपालतर्फ समेत प्रवेश गर्न सक्ने सेन्टरले जनाएको छ।

यसैगरी राजस्थानका विभिन्न स्थानमा ठूलो संख्यामा रहेका झूण्डहरुपनि दक्षिण पश्चिमी वायुसंगै नयाँदिल्ली आसपासका क्षेत्रहुँदै उत्तर प्रदेशका मुरादावाद, बरेली तथा शाहजहाँपुर तर्फ अगाडि बढ्न सक्ने पूर्वानुमान रहेको छ। यी सलहका झुण्ड पनि नेपाल आउन सक्ने सेन्टरले अनुमान गरेको छ।

पानी परेको बेला तथा रातिको समयमा स्थानान्तरण नगर्ने भएता पनि उक्त झुण्डहरु धनुषा, महोत्तरी तथा सर्लाही र आसपासका क्षेत्रमा १ देखि २ दिनमा र सुदुर पश्चिम प्रदेशमा दक्षिण तथा पश्चिमबाट तथा प्रदेश नं ५ का दक्षिण पश्चिमका भूभागहरुबाट २ देखि ३ दिनमा नेपालभित्र प्रवेश गर्न सक्ने सम्भावना रहेको सेन्टरले जनाएको छ।

यसअघि सलहले नेपालका करिब ५५ जिल्लामा लगाइएको खेतिबालीमा क्षति गरेको थियो। अघिल्लो हप्ता नेपालमा सक्रिय रहेको सलह प्रतिकुल मौसमका कारण मरेपछि हाल नेपालमा सक्रिय सलह नरहेको सेन्टरले जनाएको छ। अघिल्लो पटक आएको सलहले मकैबालीमा धेरै क्षति गरे पनि क्षतिको यकिन विवरण भने हालसम्म प्राप्त भइनसकेको सेन्टरका प्रवक्ता रामकृष्ण सुबेदीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *