कोहोलपुर नगरपालिकाले गर्‍यो कर्णाली प्रदेशमा गाभिने निर्णय

डिसी नेपाल
२९ असार २०७७ १६:५९
4
Shares

काठमाडौं। प्रदेश नम्बर पाँचमा रहेको बाँकेको कोहोलपुर नगरपालिकाले कर्णाली प्रदेशमा गाभिने निर्णय गरेको छ। हालै सम्पन्न नगरसभाबाट कोहोलपुर नगरपालिकाले कर्णाली प्रदेशमा गाभिने निर्णय गरेको सोमबार सार्वजनिक गरिएको हो।

राज्य पुनर्संरचनाअनुसार बाँकेलाई प्रदेश नम्बर ५ मा राख्नु नै गलत भएकाले नगरपालिकाले कर्णाली प्रदेशमा गाभिने निर्णय गरेको नगरपालिकाकी उपमेयर सञ्जुकुमारी चौधरीले बताइन्। उनले डिसी नेपालसँग भनिन्, ‘हामीलाई प्रदेश पाँचमा राखेर पहिलो गल्ति गरियो। अब राजधानी पनि उता रुपन्देही हुने भएपछि त्यो हाम्रो लागि अपायक हुन्छ। त्यसैले पनि हामीले कर्णाली प्रदेशमा गाभिने निर्णय गरेका हौं।’

तर यसरी कुनै स्थानीय तहले कुनै प्रदेश छोड्ने र कुनै प्रदेशमा गाभिने निर्णय गर्न पाउने कानुनी अधिकार भने छैन। तर, प्रेसर क्रियट गर्न नगरपालिकाले यस्तो निर्णय गरेको उपमेयर चौधरीले बताइन्।

त्यसो त बाँकेकै नेपालगञ्ज उपमहानगरपालिकाले यसअघि पनि कर्णाली प्रदेशमा गाभिने भन्दै आएको छ। मेयर डा. धवल शमशेर राणले बाँके र बर्दियालाई कर्णाली प्रदेशमै गाभ्न उचित हुने बताउँदै आएका छन्। नेपालगञ्जका व्यवसायीहरुले पनि बाँकेलाई कर्णाली प्रदेशमा गाभिने भन्दै आन्दोलन गर्दै आएका छन्। तर, मधेसी समूदायका जनताहरुले भने बाँकेलाई प्रदेश नम्बर पाँच नै ठिक भएको भनिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *