सरकारी निर्णयले सडकमा आएपछि एक ड्राइभरले लिए बदला, यात्रुसहित बसलाई रिजर्भवायरमा खसालिदिए

डिसी नेपाल
२९ असार २०७७ १७:३४

बेइजिङ (एजेन्सी)। चीनमा सरकारी निर्णयका कारण घरबार गुमाएका एक व्यक्तिले बदला लिन आफूसहित २१ जनाको ज्यान लिएका छन्। हङकङबाट प्रकाशित हुने चिनियाँ न्यूज पोर्टल साउथ चाइना मोर्निंग पोस्टले भनेको छ, ‘सरकारी निर्णयका कारण घरबार गुमाएपछि मान्छे कुन हदसम्म जान सक्छ भन्ने चीनको एउटा घटनाले प्रस्ट पार्छ।’

चीनको दक्षिणी प्रान्त ग्वेझोको एन्स्यानमा गएको हप्ता ‘झाङ’ थर भएका ५२ वर्षीय एक बस चालकले बदला लिन बस दुर्घटना गराएर २१ जनाको ज्यान लिएका छन्। सो दुर्घटनामा ती झाङ पनि मारिएको प्रहरीको हवला दिँदै साउथ चाइना मोर्निंग पोस्टले जनाएको छ। स्थानीय सरकारले शहर विस्तारका लागि भन्दै आफ्नो घर भत्काएको रिसमा बदला लिन उनले यस्तो निर्णय लिएको प्रहरीले जनाएको छ। ती ड्राभइरले बसलाई एक रिजर्भवायरमा खसालेका थिए।

प्रहरीका अनुसार स्थानीय सरकारले सहर पुनर्निर्माण योजना लागू गरेपछि झाङको घरलाई पनि भत्काउने सूचीमा राखेको थियो। त्यसपछि उनले सरकारी हटलाइनमा सम्पर्क गरे। आफ्नो परिवारको बसोबासनिम्ति सरकारले नयाँ घर नदिएसम्म पुरानो भत्काउन पाइन्न भनेर उजुरी दिए। तर, स्थानीय निकायबाट उनको उजुरीको सुनुवाइ भएन।

सहर पुनर्निर्माण योजनाका अधिकारीहरूले गत मंगलबार बिहानै आएर उनको घर भत्काइदिए। आफ्नै आँखाअगाडि घर भत्काइएको तोडमा उनले रक्सी किनेर पानी राख्ने बोतलमा भरे। र, आफू काम गर्ने बस कम्पनीमा गए।

उनले आफ्नो ड्युटी सुरू हुनुभन्दा ठिक अगाडि ११ः३९ बजे आफ्नी प्रेमिकालाई फोन गरेका थिए। ती प्रेमिकाले प्रहरीलाई बताएअनुसार उनी त्यो बेला एकदमै निराश सुनिएका थिए। उनको ड्युटी ११ः४७ मा सुरू भयो। उनी बस हाँकेर अघि बढे।

ठिक १२ः०९ मा उनी एउटा स्टपमा रोकिए। यात्रुहरू ओर्लिने र चढ्ने गरिरहेका बेला उनले पानीको बोतलबाट रक्सी पिए। त्यसको तीन मिनेटपछि एकदमै तीव्र गतिमा गाडी देब्रे मोडेर पाँच लेन पर हुत्याए। सडकपारि स्थानीय रिजर्भोयर थियो। लेनबाट हुत्तिएको बस सिधै रिजर्भोयरमा खस्यो।

उक्त दुर्घटनामा झाङसहित २१ जना यात्रुको ज्यान गएको छ भने १५ जना घाइते भएका छन्। बसमा कम्तिमा १२ जना विद्यार्थी थिए। बस सडकबाट हुत्तिएर रिजर्भोयरमा खस्दै गरेको दृश्य स्थानीय टेलिभिजनले प्रसारण गरेको थियो। त्यसलगत्तै यो दुर्घटना हो कि नियोजित हो भन्नेमा बहस चलेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *