जागिर अवधिभर उपसचिवले कमाए साढे चार करोडको अवैध सम्पत्ति

डिसी नेपाल
३० असार २०७७ १८:५८

काठमाडौं। शिक्षा मन्त्रालयअन्तर्गत एक जना उपसचिवले जागिर अवधिमा साढे चार करोड बढीको अवैध सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ। उपसचिव मनप्रसाद रेग्मीले ४ करोड ५४ लाख ३३ हजार ६ सय ९८ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बर्दियाको बाँसगढी नगरपालिकामा कार्यरत रेग्मीका नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा रहेका खातामा १२ करोड ८० लाख बढी रकम जम्मा रहेको भन्दै नेपाल राष्ट्र बैंकले आयोगमा उजुरी गरेपछि अनुसन्धान शुरु गरिएको बताए।

रेग्मीले आफू, पत्नी पम्फादेवी पाण्डेय र छोरी सन्ध्या रेग्मीका नाममा घरजग्गामा लगानी पाँच करोड ४९ लाख ८१ हजार ९ सय ४४ रुपैयाँ, जीवन बिमा प्रिमियम शुल्कबापत १ लाख ७७ हजार, सेयर खरिदमा एक लाख ४९ हजार ९ सय खर्च गरेको अख्तियारले जनाएको छ।

यस्तै शैक्षिक खर्चमा २७ लाख ११ हजार एक सय १२, सवारीसाधन खरिदमा ८९ लाख २६ हजार ९ सय, लाभकरमा १० लाख ६६ हजार, कर्जा चुक्तामा १८ लाख ६६ हजार ९ सय, सुन खरिदमा एक लाख ५१ हजार खर्च गरेको अख्तियारको अनुसन्धानले देखाएको प्रवक्ता कोइरालाले बताए।

रेग्मीले वैदेशिक निजी भ्रमणमा दुई लाख ६५ हजार र विभिन्न बैंक खातामा २८ लाख ४९ हजार चार सय ९१ रुपैयाँ खर्च गरेका थिए। रेग्मीले जागिर अवधिमा सात करोड ३१ लाख ४५ हजार दुई सय ९० रुपैयाँ खर्च तथा लगानी गरेकोमा दुई करोड ७७ लाख ११ हजार पाँच सय ९२ रुपैयाँको मात्र स्रोत खुलेको अख्तियारले जनाएको छ।

रेग्मीसहित पत्नी र छोरीलाई समेत विपक्षी बनाएर अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। २०५३ कात्तिक २२ गते जिल्ला शिक्षा कार्यालय, मुगुमा विद्यालय निरीक्षक पदबाट सार्वनिक सेवाको पदमा प्रवेश गरी मिति २०७१ मंसिर १ मा उपसचिवमा बढुवा भएका थिए।

प्रेस विज्ञप्ति :- मिति २०७७।०३।३० गते ।

मिति २०५३।०७।२२ गते देखि जिल्ला शिक्षा कार्यालय, मुगुमा विद्यालय निरीक्षक पदबाट सार्वनिक सेवाको पदमा प्रवेश गरी मिति २०७१।०८।०१ मा उपसचिव पदमा बढुवा भई हाल बाँसगढी नगरपालिका नगरकार्यपालिकाको कार्यालय, बर्दियामा शिक्षा युवा तथा खेलकुद शाखामा उपसचिव (अधिकृत ९औँ) पदमा कार्यरत रहेका मनप्रसाद रेग्मीले विभिन्न बैंकहरुमा निजको नाममा रहेको खातामा कर्जा कारोवार बाहेक जम्मा तथा खर्च रकम रु.१२,८०,००,०००।- भन्दा बढी देखिएको भन्ने समेत ब्यहोराको नेपाल राष्ट्र बैँक, वित्तिय जानकारी ईकाईबाट प्राप्त हुन आएको उजुरी उपरको अनुसन्धानको क्रममा निजको बैकिङ्ग कारोवार एव सिर्जित चल अचल सम्पत्ति तथा लगानी खर्चहरुका सम्वन्धमा संकलित प्रमाणका कागजातहरूका आधारमा निजले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५३।०७।२२ देखी मिति २०७६ चैत्र मसान्त सम्मको अवधिलाई जाँचअवधि लिएर निज उपरको अनुसन्धानमा निज मन प्रसाद रेग्मीले आफु एवं श्रीमती पम्फादेवी पाण्डेय र छोरी सन्ध्या रेग्मी समेतका नाममा दर्ता कायम रहने गरी घर जग्गा खरिदमा रजिष्ट्रेशन शुल्क, घर मर्मत संभार तथा जग्गा विकास निर्माण लगायतका खर्च रु. ४,८७,४३,९४४।-  घर निर्माण लागत (फिनिसिङ्ग / फर्निचर एवं घरमा जडित तथा रहेका इलेक्ट्रोनिक्स उपकरणहरु समेत) मा रु.६२,३८,०००।-, जीवन बिमा प्रिमियम शुल्क वापत रु. १,७७,००६।-¸ शेयर खरिदमा रु. १,४९,९००।-¸ शैक्षिक खर्चमा रु.२७,११,११२।-¸ सवारी साधन खरिदमा रु.८९,२६,९००।-, लाभकरमा रु.१०,६६,०३७।-, कर्जा चुक्ता प्रायोजनार्थ रु.१८,६६,९००।-, सुन खरिदमा रु.१¸५१¸०००।-¸ बैदेशिक निजी भ्रमणमा रु.२,६५,०००।- र विभिन्न बैंक खाताहरुमा अन्तिम मौज्दातमा रु. २८,४९,४९१।– समेत गरि अनुसन्धानमा लिइएको जाँचअवधिमा सम्पत्ति सिर्जना तथा लगानी गर्नमा निज मन प्रसाद रेग्मीले रु. ७,३१,४५,२९०।- खर्च तथा लगानी गरेको देखिन्छ ।

सोही अवधिमा निज मन प्रसाद रेग्मीले सार्वजनिक सेवामा रही आर्जित पारिश्रमिक वचतबाट रु.३५,२८,७८९।-, निजको वैध आयले खामेको जग्गाहरू बिक्रिबाट रु. १,४३,५२,१६३।-¸ जीवन वीमाबाट रु. १,९२,८०६।-¸ श्रीमती पम्फादेवी पाण्डेयको आय रु. ३१,५०,५६८।-, विभिन्न बैंक तथा वित्तिय संस्थाहरुबाट लिएका कर्जा रु.२९¸६४¸९००।-¸ शेयर नगद लाभाँश रु. ६७,०९०।-¸ सवारी साधन बिक्रिबाट रु. २५,५८,२७०।- कृषिबाट रु. ६,५७,७००।-, विप्रेषणबाट रु.१,००,७०६।– र वैदेशिक तालीमबाट रु.१,३८,६००।- समेत गरी अनुसन्धानमा लिएको जाँचअवधिमा निज मन प्रसाद रेग्मीले जम्मा रु. २,७७,११,५९२।– मात्र आय आर्जन गरेको देखिँदा निजको आर्थिक गतिविधि रु. ४,५४,३३,६९८।– (रु. चार करोड चौवन्न लाख तेत्तिस हजार छ सय अन्ठानब्बे) को आय भन्दा वढी खर्च गरेको रकमहरु बराबरको सम्पत्तिको स्रोत खुल्न नआएबाट निजको वैध आयको तुलनामा रु. ४,५४,३३,६९८।–(रु. चार करोड चौवन्न लाख तेत्तिस हजार छ सय अन्ठानब्बे) बराबरको सम्पत्ति गैर कानुनी रुपमा आर्जन गरेको पुष्टि हुन आयो ।

सार्वनजिक पद धारण गरेका मन प्रसाद रेग्मीले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले निज मन प्रसाद रेग्मीलाई विगो रु. ४,५४,३३,६९८।–(चार करोड चौवन्न लाख तेत्तिस हजार छ सय अन्ठानब्बे) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ बमोजिम र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय गरी गैर कानुनी रुपमा निज मन प्रसाद रेग्मीले आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिहरु निजले श्रीमती पम्फादेवी पाण्डेय र छोरी सन्ध्या रेग्मी समेतका नाममा राखेको पाइएकोले उक्त स्रोत नखुलेका सम्पत्तिहरु प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम जफत गर्ने प्रयोजनार्थ निजको श्रीमती पम्फादेवी पाण्डेय र छोरी सन्ध्या रेग्मी समेतलाई प्रतिवादी कायम गरी आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *