विमानास्थलका पसल र जहाजको पार्किङ भाडामा ७५ प्रतिशत छुट दिइने

डिसी नेपाल
१ साउन २०७७ १३:०९

काठमाडौं। नेपालमा विदेशबाट उडान गर्ने तथा आन्तरिक उडान गर्ने विमानहरुलाई त्रिभुवन अन्तर्राष्टिय विमानास्थल र अन्य सबै आन्तरिक विमानास्थलहरुमा हवाइ पार्किङमा भारी छुट दिने निर्णय सरकारले गरेको छ। त्यसैगरी विमानास्थलभित्र कार्यालय भाडामा लिने र व्यवसाय गर्नेहरुलाई पनि भाडामा भारी छुट दिने निर्णय भएको छ।

असार २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको प्रस्तावअनुसार सो निर्णय गरेको हो।

सरकारी निर्णयअनुसार, कोभिड १९ को महामारीका कारण भएको लकडाउनमा विमानका उडानहरु बन्द हुनु र त्यसले गर्दा व्यवसायमा भारी गिरावट आएका कारण सरकारले विमानास्थलहरुमा पार्किङ शुल्कमा जहाजहरुलाई ७५ प्रतिशत छुट दिने निर्णय गरेको छ।

यस्तो छुट मिति २०७६ चैत्र १ गतेदेखि लागू हुने गरी लकडाउन खोलिएपछिको एकमहिनासम्मका लागि दिने निर्णय पनि सरकारले गरेको छ। पर्यटन मन्त्रालयको उच्चस्रोतका अनुसार, नेपालभरका विमानास्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु गर्ने जहाजहरु तथा मनोरन्जनात्मक बायु सेवाहरुलाई २०७६ चैत्र १ गतेदेखि लकडाउन खुलेको मितिपछि १ महिनासम्म पार्किङ शुल्क मा ७५ प्रतिशत छुट दिइने छ।

विमानास्थलभित्र विमान कम्पनीहरुले भाडामा लिएका कोठा, संचालित पसल कबल, रेष्टुरां, लाउन्ज, बैंक, मनिएक्सचेन्ज, सवारी पार्किङलगायतका सेवा दिइरहेका फर्महरुलाई पनि कोठा भाडामा ७५ प्रतिशत छुट दिने र बिलम्ब शुल्क मिनाहा गर्ने निर्णय सरकारले गरेको छ। त्यसैगरी सरकारले यस अवधिमा बायुसेवा संचालन अनुमतिपत्र नवीकरण दस्तुर र उडान योग्यता प्रमाणपत्र दस्तुरमा ५० प्रतिशत छुट दिने निर्णय पनि गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *